हमासले बन्दी बनाएका विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
काठमाडौँ — नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले बन्दी बनाएका विपिन जोशीसहित सबै एक सय २५ जनाको निःशर्त रिहाइको माग गरेका छन् ।इजरायलको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बिहीबार अपराह्न यहाँ आयोजित समारोहमा राजदूत गोडेरले उनीहरुको मुक्ति नै इजरायलको प्रमुख लक्ष्य भएको बताए । साथै उनले पश्चिम एसियामा शान्ति र सहिष्णुता कायम गर्न इजरायल निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।गत असोज २० गते हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीसहित एक हजार एक सय ३९ जना मारिएका थिए । आक्रमणका क्रममा सो समूहले इजरायली तथा विदेशी गरी दुई सय ५२ जनालाई बन्दी बनाएको थियो । अस्थायी युद्धविरामका क्रममा हमासले २२ जना विदेशीसहित एक सय पाँच जनालाई रिहा गरेको थियो