काँक्रोखेतीबाट मनग्य आम्दानी
सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो ।
“वर्षायाम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”
काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “रु छ–सात लाख आम्दानी भयो होला”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।”
काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताउनुभयो । सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गर्नुभएको छ । “सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला”, उहाँले भन्नुभयो ।
अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ ।
अघिल्लोपटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।
अठार किलोमिटर कालोपत्रको काम भइसकेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । यस्तै, अहिलेसम्ममा एक सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको संयोजक शर्माले जानकारी दिनुभयो ।