निहुरो बेचेर पढाइ खर्च
अछाम — चौरपाटी गाउँपालिका-६ की पारु साउद गाउँकै देवीमाण्डु माविमा कक्षा १० मा पढ्छिन् । उनका बुवा कामको सिलसिलमा भारतमा छन् । कहिले वर्ष पुग्दा घर आउँछन्, कहिले दुई वर्षमा । उनका ३ बहिनी र २ भाइ छन् । १५ वर्षीया पारु सबैभन्दा जेठी हुन् ।
पारुले लगातार तीन वर्षदेखि आफ्नो र भाइबहिनीको पढाइ खर्च कहिले निहुरो बेचेर त कहिले काफल बेचेर धानिरहेकी छन् । साँफे –चौखुट्टे सडक खण्डमा चल्ने गाडीका यात्रुलाई जंगलमा फल्ने मौसम अनुसारका फलफूल, निहुरो, टिमुर बेचेर पढाइ खर्च जुटाउने गर्छिन् ।
‘बिदाको दिन गाइवस्तु चराउन जाँदा पढाइ खर्च पनि जुट्छ । बैशाख जेठसम्म काफल टिपेर बेचेँ, अहिले निहुरोको सिजन छ,’ उनी भन्छिन्, ‘गोठालो आएको बेला यसैगरी बेच्ने हो । ताजा ताजा टिपेर दिँदा तराई जानेहरु खुसी भएर किन्छन् । कहिलेकाँही त दिनमै एक हजार रुपैयाँसम्म पनि कमाइ हुन्छ ।’
चौरपाटी गाउँपालिका –६ की १४ वर्षीया रमिता साउद बिदाको दिन र शनिबार परेको दिन अरु दिनभन्दा खुशी हुन्छिन् । आफ्नो उमेर समूहका सबै साथीहरु बिदा परेको दिन गाइवस्तु चराउन जाने र पहाडबाट तराइ जाने यात्रुलाई कहिले निहुरो बेच्ने, कहिले काफल । यसरी आम्दानी गरेर आफ्नो पढाइ खर्च जुटाउन पाउँदा उनी खुसी हुन्छिन् ।
‘जंगलमा खोज्दा दुःख त हुन्छ नै । दुःख गरेअनुसारको कमाइ पनि हुन्छ,’ उनले भनिन् ,‘दुई वर्षदेखि काफल र निहुरो पाइने मौसममा कापी, कलम किन्नको लागि घरबाट माग्नु परेको छैन ।’ सबै साथीहरु जंगलमा जाने, संगै टिप्ने र मिलेर बेच्ने गरेको उनले सुनाइन् ।
‘हामी जंगलमा गएको बेला टिप्ने र रोडमा आएर बेच्ने गर्छौं । महंगो भए कोही किन्दैनन् । सस्तो सस्तोमा दियो भने सबैले किन्छन् । हामीले पनि फिर्ता लिन परेन,’ उनी भन्छिन् ।
पारु र रमिता जस्तै बिदाको दिन निहुर टिपेर बेच्ने १४ वर्षीया निर्मलाले त जेठको महिनामात्रै काफल बेचेर ७ हजारभन्दा बढी आम्दानी गरिन् । ‘अरुभन्दा म रुखमा चढ्न सक्छु । काफल पनि धेरै टिप्न सकेँ । आम्दानी पनि राम्रो भयो । भाइ बिरामी भएको बेला त्यही पैसाले उपचार पनि भयो,’ उनले भनिन् ,‘बुवा बम्बईमा काम गर्नुहुन्छ । ५ जना भाइ बहिनी छौं । कहिले निहुरो, कहिले काफल बेचेर ८/१० हजार कमाउँदा घरमा पनि राहत हुन्छ ।’
कहिलेकाहिं जंगली जनावरको डर पनि हुने गरेको उनले बताइन् । घना जंगल भएकाले एकदुइ जना मात्रै जान नसकिने र साथीहरुको समूह बनाएर जाने गरेको उनले बताइन् । यसरी जंगलमा फल्ने फल र निहुरो बेचेर आम्दानी गरेको देख्दा अभिभावक पनि खुशी छन् ।
‘स्कुल नै छुटाएर बेच्न पठाएका होइनौं । बिदाको दिन गोठालो जान्छन् । कहिले ४/५ सय कहिले त एक हजारसम्म ल्याएर आउँछन्,’ निर्मलाकी आमा धनादेवीले भनिन् ,‘हामीले पहिले गाडी भन्ने कस्तो हुन्छ भन्ने नै देख्न पाएनौं । हाम्रा छोराछोरी ती गाडीमा चढेर तराई झर्नेहरुलाई जंगलमा टिपेर उतै बेचेर आउँछन् ।’
फुर्सदको समयलाई सदुपयोग गरेर छोराछोरीले मेहेनत गरेको देख्दा खुसी हुने गरेको उनको अनुभव छ । ‘आफूले जंगलबाट टिपेर ल्याएको वस्तु लाज नमानेर गाडी रोकेर नै बेच्छन् । यसो गर्दा उनीहरुलाई पछि पनि केही न केही गरेर खाने बनाउँछ,’ उनले भनिन् ,‘अर्कोतिर हामीले पनि उनीहरुलाई तुरुन्त कापी कलम चाहिएको बेला तनाव लिन परेन ।’ Source: kantipur