कृषि उत्पादन बेच्न ‘बिक्री कक्ष’
सिन्धुपाल्चोक — जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकाका कृषकको उत्पादन बिक्री गर्न ‘कृषि उपज बिक्री कक्ष’ सञ्चालनमा ल्याएको छ । बलेफी गाउँपालिका-७ खाडीचौर बजारमा पालिकाको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी कृषक समूहद्वारा ‘बिक्री कक्ष’ सञ्चालनमा ल्याइएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराका अनुसार पाँच लाख बजेटमा थालिएको यो कक्षमा पालिकाभरिका कृषकले उत्पादन गरेका तरकारी, माछा, मासु, दूध, दहीदेखि छुर्पी बेच्न राखिएको छ । ‘उचित मूल्य पाएपछि कृषक यहाँ उत्पादन ल्याउन लालायित छन् भने अर्गानिक भएकाले कक्षबाट सामग्री किन्नलाई भीड लाग्ने गरेको छ,’ सञ्चालक सम्राटवीरजंग बोहराले भने ।
दोलखाको प्रसिद्ध पर्यटकीय स्थल कालिञ्चोकसँग जोडिएको त्रिपुरासुन्दरीको घोर्थलीमा निउरो, चोकटी लाटुमा डल्ले खुर्सानी, लसुन र प्याज ल्याइएको छ । नन्दलादेवी, लाटुसहित दर्जनौं फार्मबाट उत्पादन यहाँ ल्याइएको छ । बजारमा अर्गानिक गाउँको उत्पादन बेच्न मुस्किल हुने आमकृषकको समस्या टार्न कक्षको अवधारणा ल्याइएको पालिका अध्यक्ष बोहराले बताए ।
‘बेच्ने स्थान सहज पाएपछि पहिलेको तुलनामा केही कृषि उत्पादन बढेको छ, किसानमा उत्साह बढेको छ,’ उनले भने । दुना-टपरी, सिस्नुको पाउडर डालोजस्ता सामग्री उत्पादन नियमित भएपछि राजधानी पुग्न थालेको छ । दैनिक ३० देखि ५० भन्दा बढी कृषक यहाँ आफ्नो उत्पादन बेच्नका लागि आइपुग्ने गर्छन् । सामग्री कक्षले किनेर नगद दिँदै बिक्रीको जिम्मा लिन थालेपछि यहाँका कृषक व्यावसायिक कृषि उत्पादनमा थप उत्साहित भएर लाग्न थालेका छन् ।
source: kantipur