चीनको स्याटलाइट प्रविधिमा छलाङ, पृथ्वीमा १०० Gbps ले डेटा पठाउने सफल परीक्षण
चीनले अन्तरिक्ष प्रविधिमा एक नयाँ कीर्तिमान राख्दै पृथ्वीमा स्याटलाइटमार्फत १०० गिगाबिट प्रति सेकेन्ड (Gbps) ले डेटा पठाउने सफल परीक्षण गरेको दाबी गरेको छ। चिनियाँ कम्पनी Chang Guang Satellite Technology ले यो उपलब्धि हासिल गरेको हो।
कम्पनीले आफ्नो Jilin-1 स्याटलाइट कन्स्टलेसन प्रयोग गरी पृथ्वीमा रहेको मोबाइल ग्राउन्ड स्टेशनसँग लेजर माध्यमबाट उच्चगति डाटा ट्रान्समिशनको परीक्षण गरेको हो। यो प्रविधिमा स्याटलाइटले पृथ्वीमा स्थित ग्राउन्ड स्टेशनमा डेटा ट्रान्सफर गर्दा कुनै ढिलाइ वा अवरोध नभएको बताइएको छ।
यसअघि चीनले १० Gbps को परीक्षण गरिसकेको भए तापनि यो नयाँ प्रविधि त्यसको तुलनामा १० गुणा बढी क्षमतायुक्त भएको जनाइएको छ। Starlink जस्ता प्रविधिहरूसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले चीनले यो प्रविधिमा लगानी बढाएको हो।चीनको वैज्ञानिकहरूले यो सफलता ६G नेटवर्क, अन्तरिक्ष-आधारित इन्टरनेट सेवा र उच्चस्तरीय रिमोट सेन्सिङ प्रविधिका लागि महत्त्वपूर्ण कदमको रूपमा रहेको बताएका छन्। अब कम्पनीले यो प्रविधि अन्य स्याटलाइटहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।