समाचार

सम्पदा सिन्धुपाल्चोकमा भेटियो लिच्छविकालीन शिलालेख

इन्द्रावती गाउँपालिका-१०, महादेवटारमा लिच्छविकालीन शिलालेख भेटिएको छ। पुरातत्त्व विभागको सम्पदा अभिलेखीकरणका क्रममा हिमवत्खण्ड मिडिया प्रालीको टोलीले शिलालेख भेटाएको हो।

विभागका पूर्व उपसचिव मोहनसिंह लामा र हिमवत्खण्ड मिडियाका प्रबन्ध निर्देशक श्रीकृष्ण धिमाल सहितको टोलीले जेठ १३ मा लिच्छविकालीन शिलालेख भेटाएका हुन्। लिच्छवि लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीमा छोपिएर रहेको थियो। शिवलिङ्गको खण्डित जलहरीमा ६ पंक्तिको लिच्छवि लिपिका अक्षर खुट्याउन सकिने अवस्थामा रहेका छन्।

लिपिविज्ञ डा. श्यामसुन्दर राजवंशीका अनुसार, यो शिवलिङ्गलाई स्थानीय बासिन्दा कसैले जङ्गेश्वर त कसैले तिलेश्वर गुठी सहित मन्दिरको भग्नावशेष बताउने गरेका थिए। “शिवलिंगको जलहरीमा भएको लिपि कुनै धार्मिक शिलालेख हुनसक्छ,” राजवंशीले हिमालखबरसँग भने, “अहिलेसम्म सिन्धुपाल्चोकमा कुनै पनि लिच्छविकालीन शिलालेख नपाइएको हुँदा यो आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो।”

शिलालेखको पूर्ण पाठ पढिसकेपछि यसबाट नयाँ जानरकारी प्रकाश हुने उनको भनाइ छ।

शिलालेखको तस्वीरका आधारमा प्रारम्भिक अध्ययन गर्दा ‘स्वस्ति नित्यानित्य’ बाट शुरू भएको अभिलेखमा अंकित मिति संवत् ४४२ पौष कृष्ण ५ देखिन्छ। यो मिति शकपूर्व २ को लिच्छवि संवत् भएकाले तत्कालीन शक ४४० पौष हुने राजवंशीले बताए। तदनुसार ४४० र १३५ वर्ष जोड्दा ५७५ विक्रम् संवत् हुने उनको भनाइ छ। शिलालेखमा भीमगुप्त र उनका छोरा देवगुप्तको नाम उल्लेख छ।

पाटन स्वथ टोलको लिच्छवि संवत् ४११ को अभिलेखमा तत्कालीन विषयपति भीमगुप्तको नाम उल्लेख थियो । यो अभिलेखमा पनि भीमगुप्तको नाम देखिएकाले भीमगुप्त उनी नै हुनुसक्ने अनुमान गर्न सकिने राजवंशीले बताए।

पुरातत्त्व विभागले अभिलेखको विस्तृत अध्ययन अनुसन्धान गर्न प्राविधिक सहित विज्ञ टोली खटाएको छ। विज्ञ टोलीको स्थलगत अध्ययन अनुसन्धान पूरा भएपछि मात्र अरू थप विस्तृत विवरण आउने विभावको भनाइ छ।

लिच्छविलिपि विज्ञ नयनाथ पौडेलले सिन्धुपाल्चोकमा भेटिएको शिलालेखले त्यो वेलाको राज्यको प्रभाव र विस्तारबारे नयाँ जानकारी दिने अपेक्षा गरे। “शिलालेखले काठमाडौं उपत्यकाभन्दा टाढा पनि लिच्छविकालीन प्रभाव रहेको प्रष्ट हुन्छ,” पौडेलले भने, “सिन्धुपाल्चोकमा भेटिनु नै पनि महत्त्वको कुरा हो। यो शिलालेख राजाले स्थापना गरे वा राजाको पालामा व्यक्तिले स्थापना गरे भन्ने पूर्ण पाठपछि थाहा होला।”

शिलालेख भेटिँदा त्यो बस्ती कति पुरानो रहेछ भन्ने पनि देखिने उनको भनाइ छ। “यसअघि सिन्धुलीको कुशेश्वरमा लिच्छविकालीन शिलालेख पाइएको थियो,” पौडेलले भने, “सिन्धुपाल्चोकमा पनि भेटिँदा लिच्छवि क्षेत्र विस्तारको संकेत मिलेको छ।www.himalkhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x