जीवनशैलीविचार

स्कुल जान किन डराउँछन् बालबालिका

बालबालिकाले आफूभन्दा ठूलाहरुबाट सधैं सिकिरहेका हुन्छन् । विद्यालयमा आफूभन्दा माथिल्लो कक्षाका दाजुदिदीहरुले गरेका क्रियाकलापहरुले उनीहरुलाई प्रत्यक्ष असर पुर्‍याइरहेको हुन्छ । उनीहरुले आफूलाई यस्तो बन्ने भनेर एकजना आदर्श दाजुदिदी जस्तो बन्न खोज्छन् । उनीहरुले सधैं तिनैलाई ‘फलो’ गरिरहेका हुन्छन् । त्यो आदर्श व्यक्तिले लगाएको, खाएको, बोलेको, हिंडेको सबै कुरा नजिकबाट नियालिरहेको हुन्छ । उसले पालेको कपाल, लगाएको लुगा, उसको साथी सबै उनले याद गरिरहेको हुन्छ र ऊ पनि आफू त्यस्तै गर्न खोजिरहेको हुन्छ ।

एउटा वयस्क मानिसलाई कुनै विषय नै नलागेको कुरा बालबालिकाका लागि धेरै ठूलो समस्या हुनसक्छ । यदि कुनै एक ठाउँमा एउटा कुकुरले उनलाई भुकेको छ भने त्यो ठाउँमा पुगेपछि सधैं डराउने वा त्यो बाटो हिंडन डराउने जस्तो व्यवहार बालबालिकामा आउँछ ।

त्यही अवस्थामा उनलाई कसैले त्यसको बारेमा राम्रोसँग भनिदिएमा वा त्यो कुकुर बाँधेको छ, टोक्न सक्दैन मात्र भन्न सकेपनि उसले भोलिपल्टदेखि ढुक्क भएर हिंडन सक्छ । त्यस्तै विद्यालयमा पनि यस्ता अनेक घटनाहरु उनीहरुसँग भइरहेको हुन्छ । गृहकार्य नगर्दा कुनै शिक्षकले सजाय दिएमा ऊ बिस्तारै डरले विद्यालय जान डराउने, शिक्षकसँग बोल्न डराउने स्वभाव उनमा आउँछ ।

तर शिक्षकले सजाय दिनुको सट्टा राम्रोसँग त्यसको बारेमा गृहकार्य नगर्नुको पछाडिको कारण सोध्ने र केही समस्या रहे उनलाई सहयोग गर्न सके उसमा आत्मविश्वास जागेर आउँछ । तर यस्ता कुराहरु खासै ध्यानमा पुगेको देखिंदैन । यो झट्ट सुन्दा सामान्य विषय जोकोहीलाई लाग्न सक्छ नै ।

कसैले बालबालिकाले लगाएको लुगा कपडाको बारेमा नकारात्मक टिप्पणी वा उसको शारीरिक अवस्थालाई लिएर कुनै नकारात्मक टिप्पणी, रुप, रंग, पढाइको स्तर, साथीसँग तुलना, धार्मिक आस्था लगायत विषयमा तुलना गरेर टिप्पणी गर्नु उसको लागि असाध्य ठूलो विषय बन्न पुग्छ ।

वयस्क मानिसले त केवल टिप्पणी गरेर छाडिदिन्छन् तर त्यसपछि बालबालिकामा कस्तो असर पर्छ ? ती बालबालिकाले कसरी लिन्छन् ? भन्नेबारेमा असाध्यै सचेतताको साथ हामीले नसोच्ने हो भने परिणाम गम्भीर आउनसक्छ । उसको भविष्य नै आजका वयस्कहरुले गर्ने व्यवहारसँग जोडिएको हुन्छ ।

एउटा वयस्क मानिसलाई सामान्य लाग्ने घटना, क्रियाकलाप र भनाइले पनि बालबालिकालाई गम्भीर असर गर्न सक्छ । त्यसकारण आफूले वा कुनै वयस्क मानिसले आफू सानो छँदा त्यसलाई कसरी सोच्ने गर्थ्यो, सोही तरिकाले सोचेर मात्र बालबालिकालाई भन्नुपर्छ । व्यवहार गर्नुपर्छ ।

बालबालिका असाध्यै संवेदनशील पनि हुने हुँदा उनीहरुको भावना तथा मनमा असर पर्ने कुरा त गर्नै हुँदैन । उनीहरुसँग बढी भन्दा बढी संवाद गर्नुपर्छ । हिजोआज बालबालिकासँग हुने संवाद पनि घटिरहेको छ । उनीहरु समाजबाट अलग्गिने चलन बढेको छ, त्यसमा धेरै कुराले भूमिका खेलिरहेको छ ।

यो एउटा गम्भीर समस्या हो । बालबालिकालाई केवल भविष्यको कर्णधार मात्र भनेर हुँदैन, वर्तमानका साझेदारको व्यवहार पनि गर्न सक्नुपर्छ । उनीहरुलाई वर्तमानको साझेदार नबनाई भविष्यको कर्णधार बनाउन सकिंदैन ।

source online khabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x