विजनेशसमाचार

ढुवानी समस्याले चुमनुब्रीमै थन्कियो स्याउ

पछिल्लो समय उत्तरी गोरखामा व्यावसायिक स्याउ खेतीमा किसानको आकर्षण बढे पनि सडक सञ्जाल विस्तार नहुँदा उत्पादनले पाएन बजार

गोरखा — ढुवानी समस्याले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा फलेको स्याउ गोदाममै थन्किएको छ । चार वर्षदेखि स्याउ खेती थालेका चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका लाङपा गुरुङको झन्डै ४ सय किलो स्याउ दुई सातादेखि घरभित्रै असरल्ल छन् । नौ सय बोटबाट यस वर्ष उनले ६ सय ७० किलोभन्दा बढी स्याउ टिपेका छन् ।

दुई वर्षयता स्याउले दाना दिन थालेको हो । पोहोर दुई सय किलो छिमेकी र आफन्तलाई कोसेली पठाएँ,’ गुरुङले भने, ‘यस वर्ष एउटै बोटमा ३ देखि ५ किलोसम्म फल्यो, दुई सय किलो जति डोकोमा बोकेर फिलिम, मनास्लु पदमार्गको होटल पुर्‍याएँ, बाँकी स्याउ घरभित्रै थन्किएको छ ।’

पाकेर दाना राता भएपछि दुई सातादेखि स्याउ टिप्न सुरु गरे पनि बजार नपाउँदा समस्या परेको गुरुङले बताए । ‘करिब चार सय किलो स्याउ काठको फलेक बिछ्याएर घरभित्रै राखेको छु । बोटमा टिप्न पनि बाँकी पनि छ, अब नटिपे छिप्पिएर झर्छ,’ उनले भने, ‘बजार पुर्‍याउन बाटो छैन, फर्मबाट फिलिमको बजार आइपुग्नै तीन घण्टा लाग्छ ।’

लार्के सडकको ट्र्याक खुलेसँगै पाङसिङसम्म हिउँदमा जिप, ट्र्याक्टर ट्रक चल्न थालेका छन् । तर बर्खामा सडक अवरुद्ध रहेकाले समस्या भएको गुरुङले सुनाए । ‘यो स्याउ दुई महिनापछि टिप्ने बेला भइदिएको भए पनि तीन/चार घण्टा हिँडेर सडकसम्म पुर्‍याउन सकिन्थ्यो,’ उनले भने, ‘बर्खाको बेला लापुबाटै माथि गाडी चलेको छैन, गाडी चल्ने ठाउँसम्म बोकाएर पुर्‍याउन एक दिन लाग्छ ।’

खच्चडमार्फत ढुवानी गर्दा स्याउका दानामा चोट लागेर बिक्री नहुने जोखिम हुने गुरुङले बताए । उत्पादित सबै स्याउ गाउँमै बिक्री पनि नहुने र बजारसम्म पुर्‍याउन पनि नसक्दा खेर जाने जोखिम रहेको उनको भनाइ छ । चार वर्षअघि पाती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर स्याउ खेतीमा लागेका गुरुङ उत्पादित स्याउ बिक्री नहुँदा चिन्तामा छन् । गाउँमै २ सय ५० रुपैयाँ प्रतिकिलो बिक्री भए पनि ग्राहक धेरै नभएको उनले सुनाए । ‘अब बेच्न सकिएन भने आफैं खाएर पनि सकिँदैन, त्यसै कुहिएर जाने हो,’ उनले भने । दुई हजार मिटर उचाइको पलोङकम्पामा फलेको स्याउको स्वाद निकै मिठो रहेको उनको भनाइ छ । ‘यस वर्ष स्याउको कलर पनि राम्रो आएको छ, बजार ल्याउन सके त बिक्रीको पिरलो हुन्नथ्यो,’ उनले भने ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका गुरुङले ०६८ बाट स्वदेश फर्किएर पशुपालन र कृषि पेसा सुरु गरेका थिए । ‘विदेशबाट फर्किएपछि खच्चड किनेर चलाएँ, अब आफ्नै माटोमा केही गरौं भनेर स्याउ, ओखरको खेती थालेको हुँ,’ उनले भने । उनले ०७८ बाट स्याउ खेती सुरु गरेका हुन् । ‘ओखरका ३ सय बोट छन्, खच्चड र कृषि पेसामा लाग्दा ५० लाख जति लगानी भइसकेको छ,’ उनले भने, ‘बाटो पुगिदिए त फर्मको उत्पादन बजार पुर्‍याउन कुनै कठिन थिएन, बाटोले समस्या पार्‍यो ।’ सिर्दिबासकै पाङसिङ र आगासर्सिउँ, चुमनुब्री–४ नामरुङ, वडा २ को ल्होलगायत क्षेत्रमा व्यावसायिक स्याउ खेती सुरु भएको छ । स्याउ खेतीको परीक्षण गरी व्यावसायिकता दिएका किसान बजार नपाउँदा निराश छन् ।

चुमनुब्री गाउँपालिका–४ नामरुङमा १२ हजार ५ सय बोटको स्याउको बगैंचा छ । स्याउले बजार नपाउँदा समस्या परेको चार वर्षदेखि स्याउ खेती थालेका नामरुङका लाक्पा डुन्डुप लामा बताउँछन् । ‘यो वर्ष पोहोरभन्दा दोब्बर स्याउ फलेको छ, हिजोबाट टिप्न पनि सुरु गर्‍यौं,’ उनले भने, ‘पोहोर पनि बजार पुर्‍याउन नसक्दा पर्यटक र मनास्लु क्षेत्रका होटलमा बिक्री गरेका थियौं, केही सुकुटी बनायौं, यो वर्ष पनि बजार पुर्‍याउन मुस्किल छ ।’

 

सडक सञ्जाल विस्तार नहुँदा स्याउ ढुवानी गर्न नसकिएको लामाले जनाए । नामरुङबाट आरुघाट बजार पुग्न झन्डै तीन दिन लाग्छ । ‘खच्चडबाट ल्याउँ

दा पनि चोट लाग्छ, पहिले पाङसिङसम्म जिप चल्थे, अहिले त बाटो बिग्रिएर जिप पनि चलेका छैनन्,’ उनले भने ।

झन्डै तीन सय रोपनी क्षेत्रफलमा स्याउ खेती गरेका लामा बजार नपाउँदा स्याउ खेर जाने जोखिम बढेको गुनासो गर्छन् । दुई वर्षअघि भने लामाले हेलिकोप्टरमार्फत चुमनुब्रीको स्याउ काठमाडौं पुर्‍याएका थिए । ‘अहिले हेलिकोप्टरबाट पनि सम्भव छैन, एक फ्लाइटकै २ लाख ५० हजार भाडा लाग्छ,’ उनले भने । उत्पादित स्याउको सुकुटी र जुस बनाउने लामाको योजना छ । लामाले ‘चुमनुब्री स्याउ’ दिएर ब्रान्डिङ पनि गरेका छन् ।

उत्तरी क्षेत्रमा इटलीबाट ल्याएको गोल्डेन, फुजी, गाला, रेड डेलिसेस, जातका स्याउको खेती गरिएको छ । २ हजार ६ सय ५० देखि २७ सय उचाइ रहेको उक्त क्षेत्रमा चार वर्षको अनुभव हेर्दा हावापानीको हिसाबले स्याउ उत्पादन राम्रो हुने देखिएका स्थानीय बताउँछन् । चुमनुब्री क्षेत्रमा पछिल्लो समय व्यावसायिक स्याउ खेती गर्ने किसानको संख्या बढ्दै गएको गाउँपालिका कृषि शाखा प्रमुख अशोक जोशीले जनाए ।

‘यस क्षेत्रमा व्यावसायिक स्याउ खेती थालेको चार–पाँच वर्ष भयो, अहिले ६/७ जना किसानले खेती गर्नुभएको छ,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा स्याउ धेरै फलेको छ । तर भूगोलका हिसाबले पनि बजार पाउन समस्या छ, ढुवानी गरेर बजार पुग्दा खर्च पनि बढी, भण्डारणमा पनि समस्या देखिएको छ ।’ बजारीकरण सजिलो भए स्याउ खेती गर्नेको संख्या अझै बढ्ने स्थानीयको भनाइ छ ।

 source : kantipur
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x