केपिलासगढी गाउँपालिकामा कृषि संकलन केन्द्र स्थापना
खोटाङ — केपिलासगढी गाउँपालिकाको बाक्सिलामा कृषि संकलन केन्द्र स्थापना गरिएको छ । गाउँपालिका क्षेत्रभित्रका किसानले उत्पादन गरेको कृषिजन्य वस्तु संकलन गर्न केन्द्र स्थापना गरिएको हो ।गत आर्थिक वर्ष कृषिलाई पहिलो प्राथमिकतामा राख्दै २० लाख रूपैयाँ विनियोजन गरी संकलन केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष समीर राईले बताए । ‘गत वर्ष विनियोजित २० लाख रूपैयाँबाट कृषि संकलन केन्द्र स्थापना गरिएको हो’ राईले भने ।
किसानले कृषिजन्य वस्तु उत्पादन गरे पनि बजार नहुँदा निरासा आएकाले उनीहरूले उत्पादन गरेका वस्तु खेर नजाओस् भनेर पनि कृषि संकलन केन्द्र स्थापना गरिएको राईले बताए । ‘धेरै किसानले बजार छैन भनेर कृषिजन्य वस्तु उत्पादन गर्न गाह्रो मान्छन्’ राईले भने–‘उत्पादन गरेको कृषिजन्य वस्तु जति पनि गाउँपालिकाले लिइदिन्छ ।’
उक्त पालिकामा उत्पादन भएका कृषिजन्य वस्तुबाट विभिन्न परिकार बनाएर बजारसम्म पुर्याउने योजना बनाइएको राईले बताए । ‘किसानले उत्पादन गरेको वस्तुहरू जस्तै उदाहरण लागि आलुबाट चिप्स, रायो सागबाट गुन्द्रुक, खुर्सानीबाट अचार बनाएर बजारसम्म पुर्याउने योजना छ’ राईले भने–‘यसो गर्दा किसानको उत्पादन खेर पनि नजाने र युवाहरूले रोजगारी पनि पाउँछन् ।’
गाउँपालिकाले ५९ किसिमका कृषि उपजको मूल्य निर्धारण गरेको छ । सिजन अनुसारको मूल्य निर्धारण गरिएको राईले बताए । अन्नबाली, सागसब्जी, फलफूल, दलहन, तेलहन गरी सबै प्रकारका कृषिजन्य उत्पादनको मूल्य निर्धारण गरिएको राईले जनाए ।
source: Kantipur