नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी
नेपालले २०२५ को आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा शानदार जित हात पारेको छ। फोर्थहिल क्रिकेट ग्राउण्ड, डण्डीमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनायो। नेपालको लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिए। कप्तान रोहित पौडेलले पनि ४७ रन बनाए। अन्तिमतिर गुल्शन झा र कुशल मल्लले योगदान दिँदै स्कोर दुई सय पार पुर्याए।
जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमै समेटियो। नेपालको बलिङ आक्रमण उत्कृष्ट देखियो। नन्दन यादवले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा नै विकेट लिन सफल भए भने सोमपाल कामी र कुशल भुर्तेलले पनि महत्वपूर्ण विकेट लिए।
नेपालका लागि यो जित लिग–२ को पछिल्ला चार खेलमा तेस्रो जित हो। यस जितसँगै नेपालले अंकतालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ।
