हाइकिङ जाँदा बेपत्ता ३ जनाको सेनाले गर्यो उद्धार
काठमाडौं : काठमाडौंको सुन्दरीजलबाट चिसापानी हाइकिङ जाँदा बीचमै हराएका तीनजना टुरिस्ट गाइडलाई नेपाली सेनाले उद्धार गरेको छ । शनिबार अपराह्न तीन बजे सुन्दरीजलबाट चिसापानीका लागि हिँडेका काठमाडौं लैनचौर बस्ने ४७ वर्षीय विष्णु भट्टराई, ४३ वर्षीय विपिन श्रेष्ठ र ३५ वर्षीय जगदीश अधिकारी जंगलको बीचबाटै साँझ ६ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनीहरूलाई नेपाली सेनाको शिवपुरीस्थित चन्द्रनाथ गणको चिसापानी बेसको टोलीले उद्धार गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । ‘८ किमीको ट्रेकिङ रुटमा हिँडेका उनीहरू चिसापानीनजिकै पुगेपछि अलपत्र परेका रै’छन्, हाम्रो टोलीले उद्धारपछि स्थानीय होटेलमा बासस्थानको व्यवस्था गरिदियौं,’ गणपति दीपक केसीले भने ।
बाघ, भालुको आक्रमण गर्ने क्षेत्रसमेत भएको थाहा पाएका उनीहरू बीचबाटै हराएपछि डराएका थिए । सेनाले उद्धारपछि उनीहरूले खुसी व्यक्त गरे । उद्धारपछि टुरिस्ट गाइड विष्णु भट्टराईले भने, ‘हामी उद्धारका लागि पर्खंदा पर्खंदै आत्तिसकेका थियौं, प्रहरीलाई खबर गर्दा उसको क्षेत्रमा पर्दो रै’नछ पछि आफन्तले समन्वय गरिदिएर आर्मीले उद्धार गरिदियो । बाघले खाने हो कि भन्ने डरमा थियौं, आर्मीले उद्धारले नयाँ जीवन पाएजस्तो भयो ।’ source: annapurnapost
