पालिका खबर

जहाँ ढुंगामार्फत सूचना आदान–प्रदान हुन्छ

मुगु : मोबाइल र इन्टरनेटको दुनियाँमा पनि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको लामा समुदायले परम्परागत रूपमा चल्दै आएको चलन अनुसार घर–घरमा ढुंगा पुर्‍याएर सूचना आदान–प्रदान गर्दै आएका छन् ।

मुगुम कार्मारोङ गाउँपालिकामा जम्मा ९ वटा वडा छन् । तीमध्ये वडा नम्बर १ देखि ८ सम्म लामा समुदायको बसोबास छ । ९ नम्बरको तिन बस्तीमा क्षेत्री समुदाय छन । लामा समुदायका सबै गाउँमा कोही जन्मेको, मृत्यु भएको, वा सामूहिक बैठक, विकास, योजना लगायतका अन्य सामूहिक कार्यमा सहभागी हुन वाछलफल गर्न परम्परागत रूपमा सूचना प्रवाहका रूपमा घर–घरमा ढुंगा पुर्‍याउने चलन अहिले पनि सन्देशवाहकका रूपमा प्रयोग भइरहेको छ ।

आँगन वा घरको मूल ढोका अगाडि सानो ढुंगा देख्न बित्तिकै घरधनीलाई गाउँको कुनै महत्त्वपूर्ण कुरा आएको संकेत मिल्छ । त्यसपछि त्यो घरधनीले अर्को छिमेकीको घरमा पुर्‍याउँछ । यसरी ढुंगा सहितको सूचना प्रत्येक घर–घरमा पुगेपछितोकिएको ठाउँ र समयमा घरधनी वा प्रतिनिधि भेला भई आवश्यक विषयमा छलफल गरी निर्णय गर्ने गरिन्छ ।यसरी ढुंगा पुर्‍याउने चलनले सूचना मात्र होइन, सामुदायिक एकता र पारस्परिक सम्बन्धलाई पनि मजबुत बनाउँदै आएको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाको अनुभव छ ।

लामा समुदायबीच प्रचलित यो अभ्यासलाई धार्मिक–संस्कृतिक परम्परासँग पनि जोडिएको लामा धार्मिक गुरुहरू बताउँछन् । ढुंगा पुर्‍याउनु खबर मात्र पुर्‍याउने माध्यम नभई समुदायबीचको भरोसा, चिनारी र परम्परागत पहिचान जोगाउने माध्यम पनि मानिन्छ । गाउँलेहरू भन्छन् मोबाइलले खबर छिटो ल्याउँछ तर सीमित व्यक्तिबीच मात्रै सूचना आदान–प्रदान हुन्छ । तर ढुंगा मार्फतको खबर प्रत्येक घर–घरमा पुग्ने भएकाले यसले समुदायलाई अझ नजिक बनाएको छ ।

आजको प्रविधिमैत्री पुस्ताका लागि यो अभ्यास अचम्मको लाग्न सक्छ । इन्टरनेट प्रयोग गरेर छिनभरमै विश्वसँग जोडिने समयमा पनि यो पालिका सबै गाउँमा ढुंगा नै समाचारवाहक बनेको छ । यसले ग्रामीण जीवनको भिन्न आयाम मात्र होइन, आधुनिकता र परम्पराको अनौठो विरोधाभासलाई पनि प्रष्ट पारेको श्री बुद्ध नमुना माबिका प्रधानध्यापक लग्नसिंह सेजुवाल बताउछन । लामा समुदायको आफ्नै खाम भाषामा यसलाई ‘दुवातिन्जा‘ भनिन्छ । स्थानीय वृद्ध–वृद्धाका अनुसार यो चलन सयौँ वर्षदेखि चल्दै आएको हो । ‘दुवातिन्जा झुम्दिङ‘ अर्थात् ढुंगा दिएर भेला वा छलफलमा जम्मा हुनु भन्ने बुझाउँछ ।null

पहिले सन्देश पुर्‍याउने अन्य कुनै विकल्प नहुँदा ढुंगा नै भरोसायुक्त माध्यम मानिन्थ्यो । अहिले मोबाइल सेवा पुगे पनि सबै बस्तीसम्म फोनको पहुँच छैन । भौगोलिक विकटता र नेपाल टेलिकमको सेवा मुगुम कार्मारोङ गाउँपालिकामा त्यति भरपर्दो छैन । सयौँ वर्षदेखिको चलनलाई छोडेर आधुनिक सञ्चारमा मात्रै भर परे परम्परा हराउने भएकाले कहिलेकहीँँ यो अभ्यास अझै उपयोगी ठहरिन्छ मुगुम कार्मारोङ गाउँपालिका–१ का सोनाम वाङजी तामाङ बताउँछन् ।

समुदायमा युवापुस्ताले यसलाई परम्परागत सम्पदा जोगाउने अभ्यासका रूपमा लिन थाल्नु पर्छ । उनीहरूको भनाइमा आधुनिक सूचना प्रविधिसँगै परम्परा बचाइराख्दा हाम्रो पहिचान पनि जोगिन्छ । यही कारणले सूचना पुर्‍याउने पुरानो शैलीलाई गाउँघरमा जीवित राख्नु युवाहरूको ठूलो हात भएकाले यो चलन मात्र नभई सयौं वर्ष देखि मान्दै आएका अरू चलनलाई पर्ने जीवित राख्नु पर्ने उर्गिन नुण्डुप तामाङ बताउँछन् ।

आफ्नो घरमा पुगेको ढुंगा सहितको सूचना कसैले अर्को छिमेकीको घरमा पुर्‍याएन भने उसलाई समुदायले कारबाही गर्छ । उसले समुदायले तोकेको जरिवाना तिर्नुपर्छ । यसले गर्दा कसैले चाहेर पनि ढुंगासहितको सूचना लुकाउन खोज्दैन । यसले के देखाउँछ भने प्रविधि आउँदा पनि परम्परा हराउँदैन बरु समुदायले चाह्यो भने पीढी–पीढी सम्म यस्ता चलन जीवित राख्न सकिने गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा बताउँछन् ।

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x