रसुवामा ग्रामीण सडक कालोपत्रे
रसुवाको नौकुण्ड गाउँपालिकामा ग्रामीण सडकको कालोपत्रेले विकासको गति तिव्र पारेको छ। करिब १० वर्षअघि कृषि सडकको रूपमा निर्माण थालिएको यस सडकलाई अहिले बागमती प्रदेश सरकारको सहकार्यमा आधुनिक स्तरमा विकास गर्न थालिएको हो।
अम्बासदेखि सुरु भई पार्च्याङसम्म जोडिने यो सडक परियोजनामा भ्याटसहित ३३ करोड रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ। काठमाण्डौस्थित ढुकुचु कन्स्ट्रकसनले निर्माण जिम्मा लिएको यस परियोजनामा १० किलोमिटर सडकमध्ये ८ किलोमिटर कालोपत्रे तथा २ किलोमिटर भूगर्भीय अवस्थाका कारण ढलान गरिनेछ।
सडक कालोपत्रेपछि हिलो र धूलोको समस्याबाट मुक्त भएका स्थानीयवासीहरू हर्षित भएका छन्। वर्षौंदेखि सडकको जिर्ण अवस्थाले यातायात र जनजीवनमा कठिनाइ भोगिरहेका यहाँका बासिन्दाहरूले अब सहज यात्रा गर्ने अपेक्षा गरेका छन्।
नौ कुण्ड गाउँपालिका वडा न ५ का वडा अध्यक्ष सुजन तामाङले सडकको काम गुणस्तरीय भए सँगै ग्रामीण क्षेत्रका बस्तीमा खुसीयाली छाएको बताउनुभयो ।
२०७८।०७९ सालमा सुरु भएको यो परियोजनाले कोरोनाभाइरस महामारी र लाङटाङ राष्ट्रिय निकुञ्जका कारण ढिलाइ भोगेको थियो। तर, दुई पटक म्याद थप गर्दै निर्माण कार्य आगामी माघ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।
स्थानीय तहको केन्द्र सम्म सडक पुराउनका लागि बहु बर्से कार्यक्रम अन्तर्गत काम गरिएको हो । करिब एक दशक अघि बाट तत्कालीन जिल्ला विकास समिति ले कृषि सडकको पहुँच कृषक माझ भन्दै निमार्णको कार्य गरिएको यो सडक कालो पत्रे भए सँगै नौ कुण्ड गाँउपालिकाकोे यार्सा, पारच्याङ, फाम्चेत, सरमथली, पाटीखर्क, ठूलोभोर्ले लगायतका हजारौँ बासिन्दालाई मुख्य राजमार्ग सँगको पहुँच बढ्नुका साथै यस क्षेत्रमा कृषकहरूले उत्पादन गरेका कृषि जन्य बस्तुहरू समेत बजार सम्म लानका लागि बाह्रै महिना सहज हुने भएको छ ।
यो सडकले नौकुण्ड गाउँपालिकामा यातायात पूर्वाधारको स्तरोन्नति गर्दै कृषि, पर्यटन, र आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
# नौकुण्ड गाउँपालिका#कृषि,#पर्यटन