शान्ति सम्झौताविरुद्ध इरानभर विरोधका स्वर
इरान- संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा तीव्र भइरहेका बेला इरानभित्र त्यसको विरोध पनि चर्किन थालेको छ । उत्तरपूर्वी सहर मशहदमा विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौँ प्रदर्शनकारीले सम्भावित सम्झौताविरुद्ध नाराबाजी गर्दै शीर्ष कूटनीतिज्ञ अब्बास अराघचीको राजीनामा माग गरेका छन् ।इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा कालो पोशाक लगाएका महिलासहित प्रदर्शनकारीहरू रातो र कालो झण्डा बोकेर विदेश मन्त्रालयको कार्यालय अगाडि भेला भएको देखिन्छ । उनीहरूले ‘अराघची, राजीनामा देऊ’ र ‘घुसपेठीहरू मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनको पृष्ठभूमिमा विदेशमन्त्री अराघचीले हालै राज्य टेलिभिजनमा दिएको अन्तर्वार्ता रहेको बताइएको छ । उक्त अन्तर्वार्तामा उहाँले सम्भावित अमेरिका–इरान सम्झौताका केही पक्षबारे सङ्केत गर्नुभएको थियो, जसले देशभित्रको राजनीतिक बहसलाई थप तीव्र बनाएको छ ।
सम्झौताका विरोधीहरूका अनुसार प्रस्तावित व्यवस्था इरानको रणनीतिक हितविपरीत हुन सक्छ । यसले हर्मुज जलघाँटीमाथिको तेहरानको प्रभाव कमजोर पार्नेछ र वार्ताकारहरूले अत्यधिक रियायत दिएका छन् भन्ने उनीहरूको तर्क छ ।source:ntv
