हलेसी तुवाचुङले पायो कोशी प्रदेशको ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’
शैक्षिक क्षेत्रमा देखाएको कुशल नेतृत्व र नवीनतम पहलको कारण हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त प्रतिष्ठित पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हात पारेको हो ।
प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित विशेषज्ञ छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा कडा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका ठहर गरेको थियो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमका अनुसार शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई मुख्य आधार बनाएर स्थानिय तह छनोट गरिएको हो ।
पोखरामा शुक्रबार आयोजित प्रिन्सिपल्स एसोसिएसनको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा हलेसी तुवाचुङ नगरपालिकालाई उक्त पुरस्कार प्रदान गरिएको हो । ‘नेतृत्वका नयाँ परिभाषाः विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ’ भन्ने मुख्य नाराका साथ आयोजित सम्मेलनमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नगर प्रमुख विमला राईलाई दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका थिए ।
देशभरका शिक्षाविद्, शैक्षिक क्षेत्र सुधारका नीति निर्माता, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत एक हजारभन्दा बढीको सहभागिता रहेको उक्त सम्मेलनमा गाउँपालिकातर्फ कोशी प्रदेशमा ईलामको रोङ गाउँपालिका पुरस्कृत भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा हाल ९० वटा विद्यालय सञ्चालनमा छन् ।
सामुदायिक विद्यालयहरूमा पछिल्लो तीन वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रसुति सट्टा शिक्षक, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम विस्तार जस्ता महत्वपूर्ण कामहरू भएका छन् । भौतिक पूर्वाधारको क्षेत्रमा नगरपालिकाले उल्लेखनीय प्रगति गरेको छ । नगरपालिकाका विभिन्न विद्यालयमा गरी २६ वटा आरसीसी भवन निर्माण भएका छन् भने २८ वटा सामुदायिक विद्यालयको भवन मर्मत गरिएको छ ।
कक्षाकोठा व्यवस्थापन, प्रयोगात्मक र व्यवहारिक सिकाइ केन्द्रको स्थापना, पुस्तकालय व्यवस्थापन, बालबालिकामैत्री संरचना निर्माण, खानेपानी र शौचालय व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । बालमैत्री शिक्षण पद्धति अवलम्बन, शिक्षक तालिम, नियमित विद्यालय अनुगमन जस्ता विषयमा नगरपालिकाले सक्रियतापूर्वक कार्यसम्पादन गरिरहेको छ । महिलाको नेतृत्वमा सञ्चालित यस नगरपालिकामा दिवाखाजा, छात्रवृत्ति जस्ता शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाइएको छ ।
शैक्षिक उत्कृष्टताका साथसाथै सुशासनमा पनि हलेसी तुवाचुङ नगरपालिकाले उल्लेखनीय प्रगति गरेको छ । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार हलेसी तुवाचुङ नगरपालिकाको बेरुजू फछ्र्यौट ०.१५ प्रतिशत मात्रै देखिएको छ । उक्त आँकडाले वित्तीय अनुशासन र पारदर्शितामा नगरपालिकाको प्रतिबद्धतालाई प्रष्ट रुपमा झल्काएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको छनोटमा उत्कृष्ट नगरपालिका चयन भएर पुरस्कार ग्रहण गर्न पाउँदा थप हौसला मिलेको नगर प्रमुख विमला राईले बताएकी छिन् । उनले यो पुरस्कारले शैक्षिक क्षेत्रमा थप राम्रो काम गर्न प्रेरणा मिलेको बताएकी छिन् ।
source: rss
