जङ्गलमा त्यतिकै खेर गई रहेको चिउरी बियाँ चेपाङ समुदायका मानिसहरूलाई आम्दानीको राम्रो श्रोत
धादिङ – जङ्गलमा त्यतिकै खेर गई रहेको चिउरी बियाँ अहिले धादिङका चेपाङ समुदायका मानिसहरूलाई आम्दानीको निकै राम्रो श्रोत बनेको छ । चिउरीको बियाँ स्थानीय तहले खरिद गर्न सुरुगरेसंगै उनीहरू जङ्गलमा खेर गई रहेको चिउरीको दान र बियाँ सङ्कलनमा जुटेका छन् । बेनी घाट रोराङ्ग गाउँपालिकाले स्थानीय चेपाङ समुदायका मानिसहरूले सङ्कलित चिउरी प्रतिकिलो पचास रुपैयाँमा खरिद गरी बियाँ सङ्कलन गरेको छ ।
दक्षिणी धादिङको गजुरी बेनी घाट रोराङ्ग चितवनको ईच्छाकामना लगायत मकवानपुरको राक्सीराङ्ग गाउँपालिका र चितवनको राप्ती नगर पालिकामा सरकारले चिउरी र चमेरो संरक्षणको काम सुरु गरेसँगै स्थानीय तहहरु बियाँ र दान सङ्कलनमा पनि जुटेका हुन् । यसले गरिब विपन्न र समाजबाट समेत पछाडि पारिएको चेपाङ समुदायको मानिसहरूको आर्थिक स्तर उकास्नका लागी निकै ठुलो सहयोग पुग्ने विश्वास रहेको छ । यसरी सङ्कलन गरेको बियाँबाट बिरुवा निकाल्ने र चिउरी संरक्षणका लागी जङ्गल र निजी जमिनमा समेत चिउरीको बिरुवा लगाउने कार्यक्रम स्थानीय तहहरुले सुरु गरेको छ ।
बेनी घाट रोराङ्ग गाउँपालिकाका प्रशासन योजना प्रमुख परशुराम घिमिरेका अनुसार आफ्नो स्थानीय तह भरी सङ्कलित चिउरीको बियाँ मात्रै स्थानीय तहले खरिद गर्ने बताउनु भएको छ । यसरी सङ्कलन गरेको बियाँबाट चिउरीको घिउ र चिउरीको तेल निकाली बजारी करण गर्नका लागी पनि काम सुरु गरेको प्रमुख घिमिरेले जानकारी दिनु भएको छ ।
चेपाङ समुदायसँग चिउरीको संस्कृतक एवं पौराणीक महत्त्व जोडिएकाले यसलाई आर्थिक महत्त्वसँग जोड्न पनि यसको संरक्षण सुरु गरेको हो । चिउरीको संरक्षण यसको प्रशोधन र बजारीकरण गरी चेपाङ समुदायको आर्थिक अवस्थामा सुधार गर्नका लागी उद्योगसम्म जोड्ने बाग्मती प्रदेश सरकारको लक्ष्य रहेको छ । त्यसै अनुरु बेनी घाट रोराङ्ग गाउँपालिकामा बियाँ प्रशोधन सहित तेल निकाल्नका लागी आधुनिक मेशिन समेत प्रदेश सरकारले राखिदिएको छ । स्थानीय तहसँगको सहकार्यमा सो काम भएको हो । सो कार्यक्रम अन्तरगत सरकारले परीक्षण परियोजनाको रूपमा चेपाङ समुदायका मानिसहरूको बसोबास रहेका जिल्लाहरू मध्ये ६ ओटा स्थानीय तहका लागी पचास लाख बजेट विनियोजन गरी काम सुरु गरेको छ । source: ntv