पालिका खबरराष्ट्रियसमाचार

खडेरी पीडित किसानलाई राहत दिन रुपनीमा पुराना पैनी सिँचाइ प्रणाली पुनःसञ्चालन”


कल्याणपुर (सप्तरी), साउन ७ गते । 
धेरै वर्षअघिसम्म सप्तरीको रुपनी गाउँपालिकाका किसानहरु खाँडो र दुधैला खोलाको पानीले आफ्नो खेतमा सिँचाइ गर्थे ।

आफ्नै मिहनतले खोलामा बाँध बाँधेर पैनी बनाई त्यही पानी खेतमा लगेर सुख्खायाममा खेती गरेको देखिन्थ्यो । तर बढ्दो आधुनिकतासँगै जब मोटर, ट्युबवेल र कुवामा भर पर्न थालियो, तब विस्तारै प्राकृतिक सिँचाइका ती परम्परागत विधिहरु हराउँदै गए ।

अहिले खडेरी परेको बेला त्यही हराएको पैनी प्रणालीलाई पुनर्जीवित गर्न रुपनी गाउँपालिकाले प्रयास थालेको छ । खडेरीले अक्रान्त किसानहरुका लागि फेरि एकपटक खोलाको पानी जीवनको आशा बन्ने सङ्केत देखिएको हो ।

जमिनमा जलस्तर अत्यधिक तल झरेको र परम्परागत श्रोतहरु कुवा, ट्युवेल, सुक्न थालेकाले प्राकृतिक रुपमा बगीरहेको खाँडो र दुधैला खोलाको पानी किसानको खेतमा पुर्याउने प्रयास थालिएको बताउनुहुन्छ, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव ।

जमिनमा जलस्तर घट्दै गएकोले मात्रै आधुनिक सिँचाइले किसानको समस्या दीर्घकालीन रुपमा समाधान नहुने बताउँदै अध्यक्ष यादवले अब दीर्घकालीन रुपमा समस्याको समाधान तर्फ अग्रसर भएको बताउनुभयो ।

सिँचाइ नहुँदा किसानका खेत बाँझिन थालेकाले समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ भन्ने महसुस भयो, त्यसैले खाँडो र दुधैला खोलाबाट पानी ल्याउने तर्फ अग्रसर भएका हौँ’’ यादवले भन्नुभयो ।

२५ वर्षअघि यही खोलाबाट सिँचाइ हुन्थ्यो, तर मोटर बोर्डिङका कारण त्यो पुरानो विधि हराएकोले अब पुरानो पैनीहरू मर्मत गरी एक हप्ता–दस दिनभित्र खेतमा खोलाको पानी पुर्याउने लक्ष्य लिएर अगाडि बढेको उहाँले सुनाउनुभयो ।

“प्राकृतिक रुपमा बगिरहेको खोलाको पानी खेतमा ल्याइए ‘वाटर रिचार्ज’ हुनुका साथै खडेरी परेको बेलामा किसानलाई खेती गर्न ठुलो मद्दत पुर्याउनेछ’’ अध्यक्ष यादवले विश्वास व्यक्त गर्नुभयो ।

अनुगमन र अध्ययन 
रुपनी गाउँपालिका वडा नम्बर, २ र ५ मा तत्काल सिँचाइ सुविधा पुर्‍याउन सकिने उपायबारे सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवको नेतृत्वमा गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुले खाँडो र दुधैला खोलाको मङ्गलबार संयुक्त रुपमा अध्ययन तथा अनुगमन गरेको छ ।

प्रतिनिधिसभा सदस्य यादवसँगै सिँचाइ डिभिजन कार्यालय राजविराजका प्रमुख रमण साह, खाँडो नदी नियन्त्रण कार्यालयका निमित्त प्रमुख चन्द्रनारायण यादव, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवा समेतले अध्ययन गरी काम अगाडि बढाउने निष्कर्ष निकालिएको रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

सिँचाइको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बर्षैंदेखि प्रयोगविहीन अवस्थामा पुगेका नकटी पैनी, बघाखाल पैनी, रायपुर पैनी, पौवा लौवापार पैनी, बसबिट्टी–कुम्हरौल पैनीजस्ता पुराना सिँचाइ प्रणालीलाई पुनः सञ्चालनमा ल्याउने प्रयास थालिएको उहाँको भनाइ छ ।

दुधैला खोलाको बहाव नियन्त्रण गरेर वडा नम्बर ६ स्थित जगमोहन र तेरहौता समेतका क्षेत्रलाई सिँचाइमा समेट्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष यादवले बताउनुभयो ।

आशामा किसान
खडेरीको बेला खोलाको खेतमा पानी पुग्ने आशाले रुपनीका किसानहरु उत्साहित देखिएका छन् ।

पुरानो परम्परागत पैनी सञ्चालनमा ल्याउने प्रयास सुरु भएपछि सिँचाइ सहज हुने आशामा रहेका किसानहरु उत्साहित देखिएका हुन् ।

गाउँपालिकाले थाललेको यस्तो प्रयास केवल सिँचाइका लागि मात्र होइन, हराउँदै गएका परम्परागत प्राकृतिक सिँचाइ प्रणालीको पुनःजागरण, वातावरण संरक्षणको अभ्यास र स्थानीय स्तरमा समस्याको समाधान हुने अनुगमनमा सहभागी प्रतिनाधिसभा सदस्य यादवले बताउनुभयो ।

उहाँले गाउँपालिका थालेको यस्तो प्रयासलाई सार्थक बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसले संसाधनको पुनःस्थापना, दिगो कृषि अभ्यास र सामुदायिक आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गर्नुभयो । source: gorkhapatra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x