चन्दननाथ नगरपालिकाद्वारा खलंगा बजार उज्यालो बनाउने अभियान सुरु
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउने उद्देश्यसहित सडक बत्ती जडान कार्य सुरु गरेको छ। पहिलो चरणमा जुम्ला जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रलाई लक्षित गरी सडक बत्ती जडान गरिएको हो।
चन्दननाथ नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतका अनुसार नगरपालिकाका १० वटा वडामध्ये पहिलो चरणमा बजार क्षेत्रका विभिन्न चोक, गल्ली तथा मुख्य सडक क्षेत्रमा प्राविधिक स्टिमेटअनुसार २०० वटा सडक बत्ती जडान गरिएको छ। यसका लागि नगरपालिकाले करिब ४ हजार मिटर केबुल तार विस्तार गरेको छ। जडान गरिएका बत्तीको क्षमता ५० वाट रहेको छ।
इन्जिनियर महतले भने, “विद्युत प्राधिकरणले विगतमा बजार क्षेत्रमा केही काम गरेको भए पनि नागरिकको मागअनुसार सडक बत्तीको पूर्ण व्यवस्थापन नगरपालिकाले गरेको हो। बत्ती जडानपछि खलंगा बजार क्षेत्र झिलीमिली भएको छ।”
सडक बत्ती जडानका लागि बत्ती खरिद, प्राविधिक खर्च, जडान कार्य तथा केबुल तारसहित कुल १७ लाख ५० हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ।चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले पहिलो चरणमा बजार क्षेत्रमा जडान गरिएका सडक बत्तीको दिगोपन, प्रभावकारिता र संरक्षणको परीक्षण गरिने बताए। उनले बजार क्षेत्रमा यो योजना सफल भए नगरपालिकाका सबै वडामा चरणबद्ध रूपमा सडक बत्ती जडान गरिने जानकारी दिए।
यद्यपि सडक बत्तीको केही नेटवर्किङ कार्य विद्युत प्राधिकरणले गरेको भए पनि सम्पूर्ण व्यवस्थापन नगरपालिकाले नै गरेको हो। नगरपालिकाका सबै १० वटै वडामा ग्रामीण सडक पुगेको र राष्ट्रिय प्रसारण लाइनबाट विद्युत विस्तार भई गाउँ–गाउँसम्म पुगेको नगरपालिकाले जनाएको छ।