‘मर्न तयार छु, खानेपानीको व्यवस्था नमिलाई फर्केर गाउँ जान्नँ’
यसपालि त जसरी पनि सरकारलाई भेटेर जाने सोचमा छौं । पानी नै खान नपाउने भएपछि गाउँ गएर के गर्नु ? बरु यहीं मर्न तयार छु, पानीको व्यवस्था नमिलाईकन फर्केर गाउँ जान्नँ ।
हाम्रो घर जनकपुरमा हो । छोरा, छोरी, नाति, नातिना सबै गरेर मेरो परिवारमा १४ जना छन् । पहिले हाम्रै घरमा चापाकल थियो । त्यही चापाकलको पानी खान्थ्यौं । चापाकल सुकेको मलाई याद छैन । तर, ३ वर्षअघि अलि हिलो–हिलो पानी आयो, त्यसपछि त पानी नै सुक्यो ।कहिलेकाहीं यस्तै हुन्छ भनेर वास्तै गरेका थिएनौं । फेरि पोहोर पनि सुक्यो, अहिले पनि सुक्यो । आजभोलि त हिउँद मास सुरु हुन नपाउँदै चापाकल सुकिहाल्छ । घरको चापाकल सुकेपछि नजिकैको गंगासागर पोखरीको पानी खान्छौं ।
पोखरीमै बोरिङ गाडेको छ, त्यही पानी खाने हो । ३ वर्षदेखि यो समयमा हामी गंगासागर पोखरीकै पानी खाइराखेका छौं । सबैको घरको चापाकल सुकेकाले हामी मात्रै होइन, हाम्रो वरपरका सबैले त्यहींको पानी खाने हो ।त्यो पानी पनि कहिले हिलैहिलो हुन्छ, सफा हुँदैन । जस्तो पाउँछौं, त्यस्तै ल्याउँछौं । त्यस्तै खान्छौं । कहिलेकाहीं बिरामी पनि परिन्छ । त्यो पानी लिन पनि साह्रै दुःख पाइन्छ । बिहानै ३, ४ बजे उठेर लाइनमा लाग्नुपर्छ ।
Source-Online Khabar