लेबनानमा इजरायलको हमला : सोमबार मृत्यु हुनेको संख्या ३५६ पुग्यो
लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३५६ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानैदेखि दक्षिणी लेबनान, बेका र बालबेकका सहर र गाउँहरूमा इजरायली हमलाका कारण ३५६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ जना बालबालिका र ४२ महिला रहेका छन् । आक्रमणमा परी एक हजार २४६ जना घाइते भएका छन् । आक्रमणपछि देशको दक्षिणी भागका दसौँ हजार मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले बताएका छन् ।यी आक्रमणहरूको मुख्य उद्देश्य लक्षित क्षेत्रहरूबाट नागरिकहरूको यो पलायनलाई उक्साउनु थियो,’ स्वास्थ्यमन्त्री अबियादलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।
इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।
विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।