स्वास्थ्य चौकीको सेवा प्रभाकारी बनाउन मासिक समीक्षा
सिमकोट – स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई प्रदान गरिने सेवालाई प्रभावकारी बनाउन मासिक समीक्षा कार्यक्रम आयोजना गरिएको छ।
गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थितिमा कार्य प्रगति प्रस्तुतिसहित समीक्षा कार्यक्रम आयोजना गरिएको हो।
चार वटा स्वास्थ्य चौकीसहित सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थाको मासिक समीक्षा सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले बताए।
महिनाभरि गरिएको प्रगति र भोगिएका समस्यामाथि केन्द्रित भएर समीक्षा कार्यक्रम सम्पन्न भएको उनले बताए। विशेष गरी सेवालाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन कर्मचारीबीच समीक्षा हुन आवश्यक ठानेरै यो कार्यक्रम आयोजना गरिएको उनले बताए।
समीक्षाका स्वास्थ्य संस्था प्रमुखहरुले कार्य प्रगति, तथ्यांक विश्लेषण, समस्या पहिचान, असोजमा गर्नुपर्ने कामको कार्ययोजना, औषधि वितरणको अवस्था खर्च र निकासा, महिनाभरि आफ्नै पहलमा स्वास्थ्यकर्मीले गरेका नवीनतम प्रयासमाथि छलफल भएको थियो।
स्वास्थ्यकर्मीले काम गर्ने क्रममा स्वास्थ्य संस्थामा भोगेका समस्यासमेत जानकारी गराएका थिए। ती समस्या समाधानका लागि पनि छलफल गरिएको थियो। यो कार्यक्रम स्वास्थ्य शाखाले दुई वर्षदेखि आयोजना गर्दै आएको छ। यसबाट सेवा प्रवाहमा सहयोग पुर्याएको निचोड शाखाले बनाएको छ।
source: Desh Sanchar