तातोपानीका होटल र घरबास भरिभराउ
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको प्राकृतिक तातोपानी कुण्डमा आउनेहरूले यस क्षेत्रमा होटल र घरबास (होमस्टे)हरू भरिभराउ भएका छन् । पछिल्लो समय तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै गएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ ।
तातोपानीका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको समितिले बताएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिक रूपमै जमीनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ ।
बिरेनूनको गन्ध मिश्रित तातोपानीको कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मरोगलगायत निको हुने विश्वास छ । बागलुङको ढिकीचौरबाट पहिलोपटक तातोपानीमा नुहाउन आएकी शर्मिला गौतमले लगातार सात दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको बताइन् ।
यहाँ लगातार एक हप्तादेखि १५ दिनसम्म डुबेर उपचारका लागि तातोपानी कुण्डमा स्नान गर्नेको भीड लाग्छ । नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी समेत यहाँ उपचारका लागि आउने गरेका छन् । परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने बिरामी लगातार हप्ता दिनसम्म स्नान गरेर घर फर्कने गरेको स्थानीय कृष्णबहादुर केसीले बताए । ‘तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको केन्द्र बन्दै गएको छ, यसले म्याग्दीको गौरव बढाउनुका साथै स्थानीयको आम्दानी समेत वृद्धि भएको छ, विदेश गएकाहरू पनि फर्केर यहाँ होटललगायत अन्य व्यवसाय गर्न थालेका छन्,’ केसीले भने ।
वार्षिक करीब २० हजार जनाले तातोपानी कुण्डमा स्थान गर्न आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । कोरोनाकालका २ वर्षबाहेक त्यसअघिका वर्षमा यहाँ कात्तिकदेखि फागुनसम्म नुहाउन आउनेको भीड हुने गर्दथ्यो । कात्तिक दोस्रो सातासम्म सात सयजना भन्दा बढीले स्नान गरेको कुण्ड व्यवस्थापन समितिले बताएको छ ।
कुण्डमा नेपालबाट मात्र होइन, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउनेको संख्या बढ्दो छ । स्नान गर्न आउनेहरू बढ्दै गएपछि पुरुष र महिलालाई पालैपालो स्नानका लागि व्यवस्था गरिएको छ ।
source: arthik aviyan