विजनेश

सामाजिक सञ्जालको सदुपयोग गरी च्याउखेतीमा सफलता प्राप्त

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले सामाजिक सञ्जालको सदुपयोग गरी व्यावसायिक च्याउखेतीमा सफलता हासिल गर्नुभएको छ। युट्युबमा राखिएका कृषिसम्बन्धी भिडियो हेरेर च्याउखेती सिक्नुभएका महतोले हाल आफ्नो गाउँमा सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ।“मैले कुनै औपचारिक तालिम लिएको छैन,” महतोले भन्नुभयो, “युट्युबका भिडियोबाट सिकेर अहिले म आफैँ व्यावसायिक च्याउखेती गर्दैछु। उत्पादन राम्रो भएको छ।”

महतोले एमडी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी ७२० वर्गफिटको संरचना निर्माण गरी डल्ले च्याउ तथा ४५० वर्गफिटमा पातेच्याउको व्यावसायिक खेती सुरु गर्नुभएको छ। च्याउखेतीका लागि दुई लाख ७५ हजार रुपैयाँ लगानी गर्नुभएका उहाँले उत्पादन घरबाटै बिक्री गर्न थाल्नुभएको छ।तर, बजार व्यवस्थापन चुनौतीपूर्ण रहेको महतोले बताउनुभयो। “उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन समस्या छ। किसानले उत्पादन गर्छन्, तर बजारमा बिक्री व्यवस्थापन व्यापारीको हातमा हुन्छ,” उहाँले भन्नुभयो।दिनभरि वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउखेतीमा दिने भन्दै उहाँले यस खेतीमा आफ्नो परिवारबाट साथ मिलेको बताउनुभयो । व्यावसायिक रूपमा च्याउखेती गरेपछि तीनपटकसम्म च्याउ टिप्न सकिने भन्दै उहाँले त्यसबाट राम्रै नाफा हुने बताउनुभयो ।सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । “जबसम्म हामीले निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ”, उहाँले भन्नुभयो, “हामी विश्व व्यापार सङ्गठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ । उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन् ।”

राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उहाँको भनाइ छ ।अत्यधिक उत्पादन भएको च्याउ गाउँका उपभोक्ताले प्रत्यक्ष किन्न आए पनि बजारसम्म पुर्‍याउनका लागि उहाँलाई आफैँ ढुवानी गर्नुपर्ने बाध्यता छ। च्याउ बिग्रिन नदिन ताजा च्याउलाई सुकाएर धुलो बनाउने योजना पनि उहाँले अघि सार्नुभएको छ।सामाजिक सञ्जालको सकारात्मक प्रयोग गरी वडाध्यक्ष महतोले कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्न सफल हुनु, अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ।

#नवलपरासी#च्याउखेती#एमडी कृषि तथा पशुपन्छी फार्म

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x