नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न इयूका राजदूतसँग मन्त्री पाण्डेको आग्रह
नेपाली वायुसेवामाथि युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले युरोपियन युनियन (EU) का राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन्। शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री पाण्डेले प्रतिबन्ध चाँडै फुकुवा गरी नेपाल एयरलाइन्सलाई पुनः सञ्चालनको अवसर दिन आग्रह गरेका हुन्।
मन्त्री पाण्डेले नेपाल र EU बीच पाँच दशकभन्दा लामो कूटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै, EU नेपालको प्रमुख विकास साझेदार भएको र यसले सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले भने, “EU को आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्धले पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ। प्रतिबन्ध चाँडै फुकुवा गर्न हामी EU को सहयोगको अपेक्षा गर्छौं।”
राजदूत लोरेन्जोले प्रतिबन्धले नेपाली पर्यटन क्षेत्रमा परेको प्रभावप्रति EU सचेत रहेको बताएका छन्। साथै, उनले नेपालले उड्डयन सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न आवश्यक रहेकोमा जोड दिए। फ्रान्सको एयरबस कम्पनीले पनि नेपाली उड्डयन क्षेत्रलाई प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको उनले जनाएका छन्।
यस क्रममा राजदूतले नेपालको हवाई दुर्घटनाबारे भएको उच्चस्तरीय छानबिन प्रक्रियालाई पनि सकारात्मक रूपमा हेरिरहेको जानकारी दिए।
#नेपाली वायुसेवा#EU#नेपाली एयरलाइन्स