नगरकोट सडक निर्माण सुरु भएको एक सातामै ५ किलोमिटर कालोपत्रे सम्पन्न
नगरकोट सडक विस्तार आयोजनाले उल्लेखनीय प्रगति हासिल गर्दै एक सातामै ५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ। विकास निर्माणका कार्यहरू ढिलो हुने सामान्य गुनासोबीच यस्तो तीव्र गतिमा सम्पन्न भएको कामले स्थानीयवासीलाई उत्साहित बनाएको छ।
गत साता गढगढेबाट शूरु गरिएको कालोपत्रे गर्ने कार्य बास्तोलागाउँसम्म आइपुगेको छ भने तेलकोट पुर्याउने गरि काम भइरहेको छ ।नगरपालिकाले १७ करोडमा ठेक्का आह्वान गरेकोमा भ्याटसहित १३ करोड ५० लाखमा सम्झौता भई निर्माण कार्य शूरु भएको हो । सम्झौता भएको एक सातामै निर्माण ब्यवसायीले काम शूरु गरेको थियो ।
नगरकोट नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँ दैनिक सयौं आन्तरिक तथा विदेशी पर्यटक आउँछन्। यस्तो सडक विकासले नगरकोटको पर्यटन, व्यापार र जनजीवनलाई थप सहज बनाउने स्थानीय सरोकारवालाहरूको विश्वास छ।