पालिका खबरराष्ट्रियसमाचार

मुर्की र थाङ्ग्रेगाउँका घर घरमा धारा

गोलन्जोर (सिन्धुली), असार १३ गते । आफ्नै आँगनमा रहेको धारामा चौबिसै घण्टा खानेपानी आउँदा गोलन्जोर गाउँपालिका–३, थाङ्ग्रे निवासी गृहिणी सावित्रा बयलकोटीलाई करेसाबारीमा तरकारी खेती गर्नसमेत सुविधा पुगेको छ । खानेपानी उपयोग गरेर बढी भएको पानीले उक्त सुविधा पुगेको उहाँको भनाइ छ ।

गृहिणी बयलकोटीले भन्नुभयो, “बर्खामासमा गाउँका खोल्साखाल्सीमा पानी पलाए पनि हिउँदको सुरुसँगै खानेपानीका लागि सकस सुरु हुन्थ्यो । झन् सुक्खा मौसममा त खानेपानी खोज्दैमा बिहान बित्दथ्यो । अब भने खानेपानीका लागि ढुक्क भएको छ । सबैका घर घरमा खानेपानीका धारा जडान गरिएको छ ।”

‘एक घर, एक धारा’ अभियान अन्तर्गत दलित र विपन्न परिवारको बसोबास रहेको थाङ्ग्रे र मुर्कीगाउँका लागि सञ्चालित दुई वटा खानेपानी योजना सम्पन्न भई गत जेठ महिनामा उद्घाटन भएसँगै खानेपानीको समस्या हटेको हो । थाङ्ग्रेगाउँमा एउटा सामुदायिक भवनसहित ११ घर र मुर्कीगाउँमा एउटा सामुदायिक विद्यालयसहित १८ घरपरिवारमा खानेपानी सुविधा उपलब्ध भएको स्थानीयको भनाइ छ ।

थाङ्ग्रे खानेपानी उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर बयलकोटीका अनुसार खानेपानीको सुविधा पुगेसँगै उपभोक्ताले मासिक ५० रुपियाँ सङ्कलन गर्न थालेका छन् । खानेपानी उपभोग गर्ने घरपरिवारबाट उक्त रकम सङ्कलन गर्न सुरु गरिएको हो । उहाँले भन्नुभयो, “समितिको निर्णय अनुसार खानेपानी संस्थाको नाममा बैङ्कमा खाता खोली उक्त रकम जम्मा गर्न सुरु गरेका छौँ । पछि योजना टुटफुट भयो भने सानोतिनो मर्मतका लागि अरूलाई गुहार्नु नपरोस् भनेर मासिक रकम ५० रुपियाँ जम्मा गर्न थालेका हौँ ।”

त्यस्तै मुर्की खानेपानी उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर सार्की पनि उपभोक्ताले अहिले व्यवस्थित रूपमा खानेपानी उपभोग गर्न पाएको सुनाउनुहुन्छ । “खानेपानीका लागि मुर्की र थाङ्ग्रेका लागि एउटै नियम बनाएका छौँ,” उहाँले भन्नुभयो, “गत वर्ष जेठमा सम्झौता गरी खानेपानी योजना निर्माण सुरु गरेका थियौँ । अहिले सबैको घरमा खानेपानी चौबिसै घण्टा आउँदा दङ्ग परेका छौँ ।”

उहाँका अनुसार पहिले ढुङ्गेधारा मुहानबाट मुर्कीगाउँमा खानेपानी ल्याइएको थियो । चार÷पाँच घरको बिचमा पाइपबाटै थापेर खानेपानी उपभोग गर्नुपर्ने अवस्था थियो, धारा थिएन । “जमिनबाहिर नै पाइप थियो, बेला बेलामा पाइप डढेलोले खान्थ्यो,” अध्यक्ष सार्कीले भन्नुभयो, “अहिले व्यवस्थित धारा बनेका छन् ।” योजना अन्तर्गत च्याम्बर, इन्टेक, ट्याङ्की, धारा र पाइप लाइन विस्तारलगायतका संरचना निर्माण गरी खानेपानी वितरण गरिएको छ । कुल ६३ लाख रुपियाँको लागतमा दुवै खानेपानी आयोजना ‘ब्याक टु लाइफ इभी जर्मनी’ को सहयोग र सिएसडिएस सिन्धुलीको प्राविधिक सहयोगमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले स्थानीयसँगै गाउँपालिकाको पनि सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँ गाउँमा खानेपानी पु‍र्याउने जुन सपना देखेका थियौँ, आज त्यो सपना यथार्थमा परिणत भएको छ । मुर्की र थाङ्ग्रेगाउँका बासिन्दा बर्सौंदेखि खानेपानीका लागि लामो दुरी हिँड्न बाध्य थिए । विशेष गरी महिलाले दिनको दुईदेखि तीन घण्टा पानीको जोहो गर्नमा खर्चिन्थे । अब घरआँगनमै धाराबाट निरन्तर स्वच्छ पानीको पहुँच पुगेको स्थानीयको भनाइ छ । source :gorkhapatra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x