समाचार

रोवामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–१० र ११ वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । छायाँनाथ रारा नगरपालिका मुगुको आर्थिक सहयोगमा तथा गमगाढ विद्युत वितरण केन्द्र गमगढी मुगुको प्राविधक सहयोग एवं सहजिकरणमा छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का दस गाउँबस्तीमा विद्युत सेवा पुगेको हो ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बुधबार एक कार्यक्रमका बीच दुवै वडामा रहेका विद्युतका स्विच दबाएर छायाँनाथ रारा नगरपालिका–१० र ११ का गाउँबस्तीमा विद्युतीकरण भएको औपचारिक उद्घाटन गरेका छन् । वर्षौंदेखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयलाई बिजुली आएसँगै दैनिकीमा धेरै सहजता आउने नगर प्रमुख भामले बताए ।

अब बिजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भर पर्नु पर्दैन अब विद्यार्थीलाई टुकी बालेर पढ्नु पर्दैन । चुनावी घोषणामा साविकको रोवा गाविस र हालको छायाँनाथ रारा नगरपालिकामा बत्ती पुर्‍याउने बाचाका साथ बत्ती दुवै वडामा पुगेको नगर प्रमुख भामको भनाइ छ । छायाँनाथ रारा नगरपालिकाभित्र ८७ बस्तीमध्ये ८२ बस्तीमा विद्युतीकरण भएको उल्लेख गर्दै अब बाँकी रहेका पाँच बस्तीमा यो आर्थिक वर्षमा विद्युत सेवा पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको नगर प्रमुख भामले जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिकाको एक करोड ९३ लाखमा करिब चार वर्षको अथक प्रयासले छायाँनाथ रारा नगरपालिका–१० र ११ का गाउँबस्तीमा विद्युत सेवा पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुशपति शाहीले बताए । जसबाट छायाँनाथ रारा नगरपालिका–१० मा ६ सय घरधुरीका २२ सय नागरिक र वडा नं ११ का २४५ घरधुरीका १४ सय गरी ३६ सय नागरिक विद्युत सेवाबाट लाभान्वित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले छायाँनाथ रारा नगरपालिकाका अधिकांश बस्तीमा विद्युत सेवा पुगेको बताए । भौगोलिक विकटता समस्या छ । तर स्थानीय सरकारसंँगको सहजीकरणमा गाउँगाउँमा विद्युत सेवा पुर्‍याइने कार्यालय प्रमुख ऐडीले बताए । गमगाढ विद्युत वितरण केन्द्रको पावरहाउसमा रहेका मेसिनको बेरिङमा आएको समस्याका कारण विद्युत सेवा नियमित भएको छैन राष्ट्रिय प्रसारण लाइनमा मर्मतको काम भइरहेकाले सट डाउन लिने गरेका र बेलाबखत विद्युत अवरुद्ध हुने गरेको र बेलुकादेखि बिहानसम्म विद्युत नियमित रहेको कार्यालय प्रमुख ऐडीको भनाइ छ ।

वर्षौंपछि विद्युत सेवा पुगेपछि स्थानीय खुसी भएका छन् । विगतमा विद्युत सेवा नहुँदा दु:ख भोगेका नागरिक विद्युत सेवा पुगेपछि विगतका दु:ख सम्झदै स्थानीयले खुसी साटेका छन् । स्थानीय ठीमु नेपालीका अनुसार विद्युत नहुँदा दियालोको भरमा दिन बिताएको बताइन् । दियालोले स्वास्थ्यमा समस्या हुने थाहा भए पनि बाध्यताले उज्यालोका लागि दियालोको भर पर्नुपर्ने बाध्यता थियो । अब ती दु:खका दिन जानेमा विश्वस्त भएको नेपालीले बताइन् ।

source: karokhabar

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x