पालिका खबरराष्ट्रियविजनेशसमाचार

सुशासनको नमुना : महाभारत गाउँपालिकाको बेरुजु शून्य

देशभरका ७५३ स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका मात्र आर्थिक वर्ष २०८०/८१ मा शून्य बेरुजु कायम गर्न सफल भएको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार महाभारत गाउँपालिका देशकै एकमात्र स्थानीय तह हो, जसको बेरुजु शून्य रहेको उल्लेख गरिएको छ।

गत आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले शून्य बेरुजु कायम गरेको थियो। त्यसबेला महाभारतसँगै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका तथा ललितपुरको कोन्ज्योसोम गाउँपालिकासहित पाँच स्थानीय तह शून्य बेरुजुमा रहेका थिए। तर यस वर्ष ती स्थानीय तहले उक्त उपलब्धि कायम राख्न नसक्दा महाभारत गाउँपालिका मात्र शून्य बेरुजु कायम गर्ने स्थानीय तह बनेको हो।नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी कुल ७६१ सरकार रहेका छन्। अधिकांश सरकारी निकायमा बेरुजु देखिएको अवस्थामा महाभारत गाउँपालिकाले लगातार दोस्रो वर्ष पनि शून्य बेरुजु कायम गर्नु उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनप्रतिनिधि र कर्मचारीबीचको साझा प्रतिबद्धता, पारदर्शिता र निरन्तर प्रयासका कारण यो सफलता हासिल भएको बताए। उनका अनुसार कर्मचारीहरूलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा स्थानीय तहसम्बन्धी कानुनी व्यवस्थाबारे तालिम प्रदान गरी योजनाबद्ध र नियमसम्मत रूपमा काम गरिएकाले बेरुजु शून्य कायम गर्न सम्भव भएको हो।अध्यक्ष जिम्बा हाल दोस्रो कार्यकाल सम्हालिरहेका छन्। उनी पहिलो स्थानीय तह निर्वाचनमा देशकै कान्छा अध्यक्षका रूपमा निर्वाचित भएका थिए भने दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्। उनी नेकपा (माओवादी केन्द्र) का तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।महाभारत गाउँपालिकाको यो उपलब्धिलाई स्थानीय तहमा सुशासन, वित्तीय अनुशासन र उत्तरदायी प्रशासनको उदाहरणका रूपमा हेरिएको छ।

#महाभारत_गाउँपालिका #शून्य_बेरुजु #काभ्रेपलाञ्चोक #महालेखा_प्रतिवेदन #सुशासन #स्थानीयतह #नेपालसमाचार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x