राष्ट्रियसमाचार

मासु उत्पादनमा आत्मनिर्भरता बढाउन किसानलाई निःशुल्क उन्नत बङ्गुर वितरण

खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय किसानलाई उन्नत जातका बङ्गुरका पाठा–पाठी निःशुल्क वितरण गरेको छ। नगरपालिकालाई बङ्गुरको मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

नगरपालिकाका अनुसार वडा नं. १ बाहुनीडाँडा बाहेक अन्य १० वटै वडाका किसानलाई ल्यान्ड्रेस, हेमसायर र ड्युरोक जातका बङ्गुरका पाठा–पाठी वितरण गरिएको छ। यसअन्तर्गत वडा नं. २ डिकुवाका दुई, वडा नं. ३ च्यास्मिटारका १८, वडा नं. ४ बडहरेका सात, वडा नं. ५ दुर्छिमका ३१, वडा नं. ६ मङ्गलटारका छ, वडा नं. ७ हलेसीमहादेवस्थानका १३, वडा नं. ८ धितुङका नौ, वडा नं. ९ सल्लेका पाँच, वडा नं. १० अर्खौलेका छ तथा वडा नं. ११ राजापानीका तीन जना किसान लाभान्वित भएका छन्।

पशु विकास अधिकृत अङ्कितकुमार साहका अनुसार कोशी प्रदेश सरकारको बङ्गुर प्रवर्द्धन कार्यक्रमअन्तर्गत लागतको ५० प्रतिशत प्रदेश सरकारले र ५० प्रतिशत किसानले व्यहोर्नुपर्ने व्यवस्था भए पनि किसानको हिस्सा नगरपालिकाले नै बेहोरेको छ।

गत वर्ष पनि नगरपालिकाले १०० वटा उन्नत जातका बङ्गुरका पाठा–पाठी वितरण गरेको थियो। वितरण गरिएका बङ्गुरबाट किसानले राम्रो आम्दानी गर्न सफल भएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ हलेसीमहादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो।

सुख्खाग्रस्त क्षेत्रका किसानलाई कृषि तथा पशुपालन व्यवसायमा आबद्ध गराई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x