बाझो जमिनमा सुन फल्दै : माईजोगमाईमा बेसार खेती विस्तार
इलामको माईजोगमाई गाउँपालिकासँगको सहकार्यमा सामूहिक बचत तथा कृषि समूहले व्यावसायिक रूपमा सुरु गरेको बेसार खेती अहिले उत्साहजनक बन्दै गएको छ। समूहले आजबाट बेसार खन्न सुरु गरेको जनाएको छ।
स्थानीय कृषकको सक्रिय सहभागितामा बाझिएको जमिनको सदुपयोग गर्दै सुरु गरिएको उक्त अभियानले गाउँमा कृषि उत्पादनसँगै आत्मनिर्भरता र आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ।समूहका अनुसार यस सिजनमा करिब १२० मन बेसार उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादनलाई थप व्यवस्थित र व्यवसायिक बनाउन आफ्नै बेसार उद्योग सञ्चालन गर्ने तयारीसमेत अघि बढाइएको छ।
स्थानीय स्तरमै उत्पादन, प्रशोधन र बजारीकरण गर्ने योजना बनाइएकाले कृषकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। यस अभियानले गाउँका अन्य कृषकलाई समेत व्यावसायिक खेतीतर्फ आकर्षित गरेको बताइएको छ।कृषि समूहले सामूहिक प्रयास, स्थानीय सरकारको सहयोग र बाझो जमिनको सदुपयोगमार्फत ग्रामीण अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।

