७५ प्रतिशत अनुदानमा अलैँचीका बिरुवा वितरण, रावा बेसी गाउँपालिकाद्वारा किसानलाई प्रोत्साहन
खोटाङ। रावा बेसी गाउँपालिकाले कृषि उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने उद्देश्यले ७५ प्रतिशत अनुदानमा अलैँचीका बिरुवा वितरण गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाको कृषि विकास शाखा ले वडा नं. ६ हौँचुर मा अलैँचीका बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. ६ का वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी तथा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अलैँची खेतीको व्यावसायिक विस्तारले स्थानीय कृषकको आय वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
गाउँपालिकाका अनुसार, यस कार्यक्रममार्फत किसानहरूलाई गुणस्तरीय अलैँची खेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
रावा बेसी गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री अनुदान तथा प्रवर्द्धनमुखी कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
