राष्ट्रियसमाचार

फोक्सोमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं- फोक्सोमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लैजाने तयारी भएको छ।

लगातार स्वास्थ्यमा समस्या देखिएपछि परिवारले नै भारतमा उपचारका लागि लैजान चिकित्सकसँग आग्रह गरेका हुन्। चिकित्सकहरुले राष्ट्रपति पौडेलको स्वास्थ्य जाँच र प्रयोगशाला परीक्षणका रिपोर्ट हेरेर यस विषयमा निर्णय लिन सक्ने स्रोतले जानकारी दियो।

‘उहाँ (राष्ट्रपति पौडेल)लाई थप उपचारका लागि भारत लैजाने भन्ने विषयमा हामीले चिकित्सकहरुसँग सल्लाह गरिरहेका छौं,’ राष्ट्रपति पौडेलको पारिवारिक स्रोतले भन्यो, ‘अब चिकित्सकहरुले दिएको सुझावका आधारमा हामी अगाडि बढ्छौं।’

राष्ट्रपति पौडेलको निजी चिकित्सक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा निरज बम लगायतको टोली उनको उपचारमा संलग्न छन्।

राष्ट्रपति पौडेल मंगलबार अस्पताल भर्ना भएका हुन्। उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार आवश्यक परीक्षण गरिएको थियो। सोमबार गरिएको भिडियो एक्सरेमा पौडेलको फोक्सोको झिल्लीमा पानी जमेको देखिएको थियो। पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

यसैबीच अस्पतालले राष्ट्रपति पौडेलका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै उपचार भइरहेको जानकारी दिएको छ। अस्पतालले झारा टार्ने हिसाबले विज्ञप्ति निकालेको छ।

‘राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा असहज परिस्थिति उत्पन्न भएकाले अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको उपचार जारी छ,’ अस्पताल प्रशासन प्रमुख बैकुण्ठ प्रसाद थपिलयाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

source:nepallive

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x