हिमाली पहिरो पूर्वानुमानमा एआई
नेपालजस्तो पर्वतीय भूगोल भएको मुलुकमा वर्षायामसँगै पहिरोको समस्या सुरु भइहाल्छ । सामान्य रूपमा दोहोरिने प्राकृतिक विपद् बनेको छ यो । विशेषगरी लवाङ, सोलुखुम्बु, सिन्धुपाल्चोक र गिरीबगरजस्ता उच्च जोखिमयुक्त पहाडी जिल्लामा हरेक वर्ष अवैज्ञानिक सडक निर्माण, डढेलो, अवैध वन कटान र अत्यधिक वर्षाका कारण ठूला पहिरोहरू गइरहन्छन् । यस्ता प्राकृतिक प्रकोपले सयौं परिवार विस्थापित हुने, जनधनको ठूलो क्षति हुने र स्थानीय पूर्वाधारहरू नष्ट हुने अवस्था छ । जलवायु परिवर्तनका असरहरूसँगै यस्ता जोखिम अझै बढ्न सक्ने देखिएकाले दीर्घकालीन समाधानका उपायहरू खोज्नु अपरिहार्य भएको छ ।
यस्तो अवस्थामा आधुनिक प्रविधिको प्रयोग, विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), एक नयाँ आशाको संकेत बनेको छ । एआई प्रणालीहरूले स्याटलाइट इमेज, भौगोलिक सूचना प्रणाली (जीआईएस), मौसम पूर्वानुमान तथ्यांक र भूतपूर्व घटनाको विश्लेषणमार्फत जोखिमपूर्ण क्षेत्रहरूको पहिचान गर्न सक्छन् । यी प्रविधिले समयमै चेतावनी प्रदान गरेर पहिरोबाट हुने सम्भावित क्षति कम गर्न सघाउन सक्छन् । अब नेपालको भौगोलिक विशेषता र स्रोतहरूको उपयोग गर्दै यस्ता स्मार्ट प्रणालीहरूको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । यही प्रविधिमार्फत नेपालले पहिरो जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण फड्को मार्न सक्छ ।
जको प्रविधि युगमा विश्वका धेरै मुलुकले पहिरोको जोखिम पूर्वानुमान गर्न कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गरिरहेका छन् । जापानमा भूकम्प र पहिरोसँग सम्बन्धित चेतावनी प्रणालीमा राडार, मौसमसम्बन्धी तथ्यांक र एआई आधारित एल्गोरिदम प्रयोग गरिन्छ । यी प्रविधिहरूको सहयोगले पहिरोको सम्भावना समयमै थाहा पाउन सकिन्छ र प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल जानकारी दिइन्छ । स्विटजरल्यान्डमा पनि अत्यधिक वर्षा, हिमपात पग्लने प्रक्रिया र भू–चाललाई निरन्तर ट्र्याक गरेर ‘रिअल टाइम’मा पहिरोको जोखिम मूल्यांकन गरिन्छ । यस्ता प्रविधिले जोखिम क्षेत्रमा मानवीय र भौतिक क्षति न्यून गर्न ठूलो योगदान पुर्याएका छन् । यसैगरी, अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगल डढेलोपछि हुने पहिरोको निगरानी (यलआईडीएआर) प्रविधि, ड्रोन र एआई प्रणालीबाट गरिन्छ ।
यी प्रविधिहरूले पहिरोको सम्भाव्यता नक्सा बनाउन, जोखिमको स्तर मापन गर्न र सटिक चेतावनी दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यस्ता वैश्विक अभ्यासहरू नेपालजस्तो भौगोलिक विविधता भएको देशमा पनि प्रयोग गर्न सकिन्छ । तर, नेपालको भू–परिवेश, स्रोतसाधन र स्थानीय समुदायको पहुँचलाई ध्यानमा राखी यस्ता प्रणालीहरूलाई परिमार्जन गरेर लागू गर्नुपर्छ । जसले दीर्घकालीन रूपमा सुरक्षित र दिगो पहिरो व्यवस्थापनमा मद्दत पुर्याउनेछ ।
नेपालका हिमाली तथा पहाडी क्षेत्रहरू पहिरोको दृष्टिकोणले अत्यन्त संवेदनशील छन् । यस समस्याको समाधानका लागि पछिल्लो समयमा प्रविधिको सहयोगमा उल्लेखनीय पहलहरू हुँदै आएका छन् । पहिलो, त्रिभुवन विश्वविद्यालयमा एक अनुसन्धान टोलीले (टीसीएन) नामक एआई मोडेल प्रयोग गरेर पहिरो पूर्वानुमान गर्ने प्रयोग गरेका छन् । यस मोडेलले विगतको वर्षा, हिउँ पग्लिने गति, पानीको बहाव र भू–बनावटजस्ता तथ्यांकहरूलाई प्रयोग गरी भविष्यमा पहिरो हुनसक्ने सम्भावनाहरूको सटिक अनुमान गर्न सक्छ । यो मोडेल अन्य प्रसिद्ध प्रविधिहरू जस्तै यलएसटीएम र एसभीआरको तुलनामा अझ राम्रो नतिजा दिन सफल भएको छ । वैज्ञानिकहरूले यसमार्फत आरएमएसई ०.०२३ र एमएई ०.०११ जस्ता प्रभावकारी परिणाम प्राप्त गरेका छन् । जसले नेपालमा एआई आधारित पूर्वानुमान प्रणालीको सम्भावनालाई थप सशक्त बनाएको छ ।
source: annapurna post