राष्ट्रियसमाचार

५१ लाख खर्चेर दुई पालिकालाई जोड्ने पुल तयार

सल्यान, असार १३ गते । जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ सिरुवालीदेखि बागचौर नगरपालिका–१० मोखला जोड्ने ८२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । करिब ५१ लाख रुपियाँको लागतमा दुई पालिका जोड्ने झोलुङ्गे पुल निर्माण भएको हो ।

पुल निर्माणसँगै यसअघि वर्षायाममा खोला तर्ने क्रममा जोखिम बेहोर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीहरूको भनाइ छ । पुल उद्घाटन समारोहमा अध्यक्ष बुढाथोकीले अब दुई पालिकाबिचको सम्बन्ध अझ बलियो हुने बताउनुभयो ।

सहज आवतजावतका लागि झोलुङ्गे पुलले विशेषगरी बालबालिका, वृद्धवृद्धा, किसान तथा सर्वसाधारणको दैनिकीमा सहजता ल्याएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताउनुभयो ।

छत्रेश्वरी गाउँपालिकामार्फत सङ्घीय सशर्त अनुदान र शारदा संस्था नेपाल सल्यानको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । जनश्रमदानसहित कुल ५१ लाख रुपियाँको लागतमा सम्पन्न भएको र यसबाट करिब दुई सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको ठारखोला झोलुङ्गे पुल निर्माण समिति, वडा नं ५ का अध्यक्ष ज्योती रावतले जानकारी दिनुभयो । पुलको  निर्माणकार्य २०८० सालको फागुन २५ गतेदेखि सुरु गरिएको थियो ।

छत्रेश्वरी गाउँपालिकाको वडा नं २ बाट बग्ने दहखोलाको मोखला क्षेत्रमा निर्माण गरिएको झोलुङ्गे पुलले दुई पालिकाका स्थानीयहरूबिचको दैनिक आवागमन, सामाजिक सम्बन्ध र आर्थिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।  source: gorkhapatra

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x