पालिका खबरसमाचार

अब सिन्धुलीको दुधौली र मरिण गाउँपालिकाबाटै नापी र मालपोत सेवा

अब सिन्धुलीको दुधौली नगरपालिका र मरिण गाउँपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा प्रदान गर्ने भएका छन् । सरकारले स्थानीय तहबाटै जग्गा प्रशासनसम्बन्धी सेवा प्रदान गर्न पहिलो चरणमा छनौंट गरेका देशभरका ३५ स्थानीय तहमध्ये सिन्धुलीको दुधौली नगरपालिका र मरिण गाउँपालिका पनि छनौंटमा परेसँगै यी पालिकाहरुबाट उक्त सेवा आरम्भ हुन लागेको हो ।

यसै आर्थिक वर्षबाटै हालसम्म भूमि प्रशासन कार्यालय (मालपोत) र नापी कार्यालयबाट प्रदान हुँदै आएको सेवा स्थानीय तहबाटै उपलब्ध गराउने गरी सरकारको निर्णय अनुसार तयारी थालिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको भनाई छ ।
‘पालिकाबाट जेठको पहिलो सातादेखि सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।

यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन, कर्मचारी तालिम तथा सेवा सञ्चालनको आधारभूत तयारी भइरहेको छ,’ अध्यक्ष मुक्तानले भने ।
स्थानीय तहबाट भूमि सेवा सुरु भएपछि नागरिकको समय र खर्च दुवै बचत हुनेछ । यो संगै सामान्य कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहले सेवा सञ्चालनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आशयपत्र पठाएका थिए । तीमध्ये दुधौली नगरपालिका र मरिण गाउँपालिका पहिलो चरणमै छनोटमा परेका हुन् । कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाले भने आशयपत्र नपठाएको जनाइएको छ । जिल्लाको दुधौली नगरपालिकाले भने आगामी साउन १ गतेदेखि सेवा आरम्भ गर्ने तयारी गरेको जनाएको छ ।

कार्यबाहक नगर प्रमुख चन्द्रकिशोर थारुले भवन र कर्मचारी व्यवस्थापनमा कुनै समस्या नरहेको उल्लेख गर्दै निर्धारित समयभित्र सबै तयारी पूरा गरी सेवा आरम्भ गरिने जानकारी दिए । भूमि प्रशासन कार्यालय सिन्धुलीका अनुसार संघीय सरकारको परिपत्रपछि जिल्लाका सबै स्थानीय तहलाई सेवा सञ्चालनका लागि तयारी गर्न भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x