बागलुङमा ऐतिहासिक सफलता : पानी र खेर गएको विद्युत्बाट हरित हाइड्रोजन ग्यास उत्पादन, चुलो बालेर खाना पकाउन सुरु
बागलुङ, नेपाल — बागलुङको बडिगाड गाउँपालिका मा नेपालमै पहिलोपटक पानी र खेर गएको विद्युत् प्रयोग गरेर हरित हाइड्रोजन ग्यास उत्पादन गरिएको छ। सफल परीक्षणपछि उक्त ग्यास प्रयोग गरी चुलो बालेर खाना पकाउनसमेत सुरु गरिएको छ।
नवीन प्रविधिको प्रयोगमार्फत उत्पादन गरिएको हरित हाइड्रोजन ग्यासलाई वैकल्पिक ऊर्जाको भविष्यका रूपमा हेरिएको छ। गाउँपालिकामा सञ्चालन गरिएको परीक्षण परियोजनाले पानीलाई विद्युत्को सहायताले हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर ग्यास उत्पादन गरेको हो।
विशेषगरी वर्षायाममा खेर जाने अतिरिक्त विद्युत् उपयोग गरेर उत्पादन गरिएको हरित हाइड्रोजन वातावरणमैत्री तथा दिगो ऊर्जाका रूपमा प्रयोग गर्न सकिने विज्ञहरूले बताएका छन्। परीक्षण सफल भएपछि स्थानीयवासीसमेत उत्साहित बनेका छन्।
उक्त ग्यास प्रयोग गरेर अहिले खाना पकाउने कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ। यसले ग्रामीण क्षेत्रमा स्ड गाउँपालिकामा ऊर्जाको प्रयोग बढाउनुका साथै आयातित एलपी ग्यासको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रमा नेपालका लागि यो परियोजना ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यदि परियोजना दीर्घकालीन रूपमा सफल भएमा देशका अन्य स्थानमा पनि हरित हाइड्रोजन प्रविधि विस्तार गर्न सकिने सम्भावना रहेको बताइएको छ।
