पालिका खबरविजनेशसमाचार

खाँडादेवी गाउँपालिकाद्वारा कफी खेती प्रवर्द्धनका लागि आवेदन आह्वान

खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कफी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले कफी खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले रु. ३ लाख बजेट विनियोजन गरी इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फार्महरूबाट आवेदन आह्वान गरेको हो।गाउँपालिकाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कृषि विकास शाखामा निवेदन पेश गर्न अनुरोध गरेको छ। कार्यक्रम गाउँपालिकाका सबै वडामा सञ्चालन हुने जनाइएको छ।

सूचनाअनुसार कफी खेतीका लागि ५०० देखि १६०० मिटर उचाइ उपयुक्त मानिएको छ भने बिरुवा २ मिटर × २ मिटरको दूरीमा रोप्नुपर्ने व्यवस्था गरिएको छ। प्रति रोपनी १०० देखि ११५ वटा बिरुवा रोप्न सकिने उल्लेख गरिएको छ।आवेदनका लागि निवेदन, नागरिकता तथा जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। कृषक समूह,कृषि सहकारी तथा कृषि फार्मका हकमा दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ।

गाउँपालिकाले नयाँ कफी बगैँचा स्थापना गर्ने कृषकलाई प्राथमिकतामा राख्दै प्रति बिरुवा रु. २० का दरले प्रोत्साहन अनुदान उपलब्ध गराउने जनाएको छ। अनुदान प्राप्त गर्न कम्तीमा १०० वटा बिरुवा रोपिएको हुनुपर्ने तथा वडा कार्यालयको सिफारिस र प्राविधिक अनुगमनपछि मात्रै सुविधा प्रदान गरिने व्यवस्था गरिएको छ।कफी खेती विस्तारमार्फत कृषकको आयआर्जन वृद्धि, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषि विकासमा टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x