बुद्ध नेपालमै जन्मिएका हुन्, सगरमाथाको देश महान् छ – भारतीय प्रधानमन्त्री मोदी
शिर झुकाएर मोदीले गरे नमस्कार, पछिपछि देउवा
काठमाडौँ । बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने लुम्बिनी भ्रमणमा आएका छन् । यस क्रममा उनले मायादेवी मन्दिर अवलोकन गर्नुका साथै विशेष पूजा पनि गरेका हुन् ।
उत्साहित हुँदै दर्शन गरिरहेका मोदीले शिर झुकाउँदै नमस्कार गरिरहे भने नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा उनका पछि पछि हिँडिरहेको देखिएका थिए । प्रधानमन्त्रीका रुपमा यो मोदीको पाँचौँ नेपाल भ्रमण हो ।
लुम्बिनीमा गरेको सम्बोधनमा उनले भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी आउन पाएकामा आभार व्यक्त गरेका हुन् ।
गौतम बुद्धको जन्मथलोको ऊर्जा नै फरक रहेको पनि उनले बताए । त्यस्तै उनले नेपाल्बिना भगवान् श्रीराम अधुरो भएको समेत चर्चा गरेका हुन् ।
विश्वकै सबैभन्दा उचोँ पर्वत सगरमाथाको देश, दुनियाँकै प्राचीन सभ्यता संरक्षण गर्ने देश भनेर नेपालको खुलेर प्रशंसा पनि गरेका छन् । हरेकपटक नेपाल आउँदा छुट्टै अध्यात्मिक भाव महसुस हुने उनले बताए ।
नेपाल र भारत एउटै परिवारको सदस्य समान रहेको बताउँदै उनले यसै घनिष्ट सम्बन्ध विश्वहितका निम्ति महत्वपूर्ण रहने बताएका हुन् ।
खानपान, गीतसंगीत, रितिरिवाज सबैमा समानता रहेको नेपाल भारत समुदायबीचको सम्बन्ध हिमाल जस्तै अटल र प्राचीन उनी बताउँछन् ।
भ्रमणकै क्रममा मोदीले एक अर्ब लागतको तीन वर्षमा तयार हुने भनिएको नयाँ बौद्धिक मठको पनि शिलान्यास गरेका हुन् ।
भारतबाट सीधै हेलिकोप्टरमा लुम्बिनी पुगेका थिए मोदी र त्यसैगरी फर्किने खबर गरिएको छ ।
source:baahrakhari