कोन्ज्योसोममा ५६ फिट अग्लो बुद्ध प्रतिमाको भव्य उद्घाटन हुँदै, बुद्धजयन्तीका दिन विशेष समारोह
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गाउँ गौरवको महत्वाकांक्षी योजनाअन्तर्गत निर्माण सम्पन्न गरेको कोन्ज्योसोम प्रतिमाको आगामी जेठ १० गते बुद्धजयन्तीका अवसरमा भव्य उद्घाटन गर्ने भएको छ।गाउँपालिकाले बौद्ध सभ्यता, धार्मिक पर्यटन तथा स्थानीय पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरेको उक्त प्रतिमाको उद्घाटन समारोहमा सहभागिता जनाउन गाउँपालिका अध्यक्ष कृष्णमान लामा ले सम्पूर्ण नागरिक, धार्मिक व्यक्तित्व तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ। अध्यक्ष लामाले भिडियो सन्देशमार्फत बुद्धजयन्तीका दिन आयोजना हुने ऐतिहासिक कार्यक्रममा उपस्थित भई गौरवमय क्षणको साक्षी बन्न अनुरोध गर्नुभएको हो।
गाउँपालिकाका अनुसार कोन्ज्योसोम प्रतिमा गाउँ गौरवको योजनाअन्तर्गत निर्माण सम्पन्न भएको नमूना परियोजना हो। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस प्रतिमाले कोन्ज्योसोम गाउँपालिकाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने विश्वास गरिएको छ।विशेष गरी प्रतिमाको केन्द्रमा रहेको बुद्ध मूर्ति ५६ फिट अग्लो रहेको छ भने दायाँ र बायाँ रहेका अन्य दुई बुद्ध मूर्ति ५२–५२ फिट अग्ला छन्। यससँगै कोन्ज्योसोमको मुख्य बुद्ध प्रतिमा काठमाडौंको स्वयम्भूमा रहेको ४६ फिट अग्लो बुद्ध मूर्तिभन्दा पनि अग्लो रहेको जनाइएको छ।
गाउँपालिकाको नाम नै कोन्ज्योसोमबाट राखिएको कारण यसलाई विशेष महत्व दिइएको छ। तामाङ भाषा तथा बौद्ध सभ्यतासँग जोडिएको ‘कोन्ज्योसोम’ शब्दको गहिरो धार्मिक र सांस्कृतिक अर्थ रहेको छ। ‘कोन्ज्यो’ को अर्थ भगवान् र ‘सोम’ को अर्थ त्रिदेव भन्ने गरिए पनि बौद्ध दर्शनमा यसलाई बुद्धका तीन रत्न– बुद्धरत्न, धर्मरत्न र संघरत्न का रूपमा व्याख्या गरिन्छ।गाउँपालिकाले कोन्ज्योसोमलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। प्रतिमाको उद्घाटनसँगै यस क्षेत्रको पर्यटन, स्थानीय अर्थतन्त्र तथा सांस्कृतिक पहिचानलाई थप उचाइ मिल्ने अपेक्षा गरिएको छ।

