राष्ट्रियसमाचार

किरात उद्गमस्थल तुवाचुङलाई विश्व सम्पदा सूचीमा पार्न माग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित किरात समुदायको पवित्र उद्गमस्थल तुवाचुङ जायजुङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग गरिएको छ।साकेला उभौली पर्वको अवसरमा शनिबार आयोजित ‘तुवाचुङ दिवस’ कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसका लागि पहल गर्ने आश्वासन दिएका छन्।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, हलेसी तुवाचुङ नगरप्रमुख बिमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई र तुवाचुङ जायजुम संरक्षण समितिका महासचिव दिनेश राई लगायतले डा. कोइरालासमक्ष तुवाचुङको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व उजागर गर्दै विश्व सम्पदा सूचीमा पार्न आग्रह गरेका हुन्।उनीहरूले राज्यबाट यस क्षेत्रको संरक्षण र प्रवर्द्धनमा उपेक्षा भएको गुनासोसमेत गरे।जवाफमा नेता कोइरालाले तुवाचुङको ऐतिहासिकता र पर्यटकीय सम्भावनालाई आफूले नजिकबाट महसुस गरेको बताउँदै विश्व सम्पदा सूचीमा समावेश गराउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘पहिलो पटक आएको यो ठाउँको ऐतिहासिक, पुरातात्विक, सामाजिक र पर्यटकीय सम्भावना प्रचुर देखें,’ कोइरालाले भने, ‘यसको संरक्षण र विकास गर्दै सम्पदा सूचीमा पार्न प्रयास गर्नेछु।’

‘तुवाचुङ जायजुम संरक्षण समिति, खोटाङ’ को आयोजनामा शनिबार सम्पन्न ‘तुवाचुङ दिवस’ मा किराती समुदायले आफ्नो उद्गमस्थल मानिने तुवाचुङमा विधिपूर्वक ३ चुला र आफ्ना आदिम पुर्खा तयामा, खियामाको पूजाआराधना गर्दै साकेला सिली नाचेर उभौली पर्व (धिरीनाम ५०८५) मनाएका थिए।

नगरप्रमुख बिमला राई, किरात धामी (विजुवा) तथा सामाजिक एवं राजनीतिक अगुवाहरूले पूजाआराधना र पितृतर्पण गरेका थिए। किरात वेद मुन्दुममा तुवाचुङ जायजुङलाई किराती समुदायका सृष्टिकर्ता पुर्खाहरू तयामा, खियामा र जायजुङको उत्पत्तिस्थल मानिन्छ।

हलेसी तुवाचुङ नगरप्रमुख राईले किरात उद्गमस्थल तुवाचुङ र हलेसी क्षेत्र हिन्दू, बौद्ध र किरात सभ्यताको विश्वप्रसिद्ध त्रिधार्मिक स्थलसमेत भएकाले यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सबै दृष्टिकोणबाट उपयुक्त रहेको बताए। उनले यसका लागि सबै राजनीतिक दलमार्फत सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे।तुवाचुङ जायजुङमा नेपालसहित भारतका दार्जिलिङ र सिक्किम प्रान्तबाट समेत किरात राई समुदायका श्रद्धालुहरू पूजाआजा र दर्शनका लागि आउने गर्दछन्।

संरक्षण समितिका महासचिव दिनेश राईका अनुसार उभौली र उधौली पर्वमा यहाँ एक महिनासम्म भक्तजनको घुइँचो लाग्ने गर्छ भने पछिल्ला वर्षहरूमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ।शनिबार आयोजित साकेला सिली प्रदर्शनीमा खोटाङ र उदयपुरका विभिन्न स्थानीय तहका १३ समूहले सहभागिता जनाएका थिए। source: रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x