लक्षित वर्गलाई ५० प्रतिशत अनुदानमा पशुपन्छी वितरण कार्यक्रमका लागि छनोट भएका लाभग्राहीलाई सम्झौताका लागि आह्वान
बागमती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको “लक्षित वर्गलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका गाई/भैँसी वितरण कार्यक्रम” का लागि छनोट भएका लाभग्राहीलाई सम्झौता गर्न उपस्थित हुन आग्रह गरेको छ।गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमका लागि छनोट समितिमार्फत मूल्याङ्कन गरी छनोट गरिएका आवेदकहरूलाई आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा उपस्थित भई सम्झौता गर्न अनुरोध गरेको हो। सूचनाअनुसार निर्धारित समयभित्र सम्झौता नगर्ने लाभग्राहीको अवसर रद्द हुन सक्ने जनाइएको छ।सम्झौता गर्न आउँदा लाभग्राहीले नेपाली नागरिकताको प्रतिलिपि, लक्षित वर्गसम्बन्धी प्रमाणपत्रको प्रतिलिपि तथा कार्यक्रमको लागत सहभागिताअन्तर्गत ५० प्रतिशत रकम बराबरको रु ७५ हजार गाउँपालिकाको तोकिएको खातामा जम्मा गरेको सक्कल भौचर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। गाउँपालिकाका अनुसार कार्यक्रमअन्तर्गत पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्दै स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्य राखिएको छ। अनुदानमार्फत उन्नत जातका पशुपन्छी वितरण गरी उत्पादन तथा उत्पादकत्व बढाउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।सूचनामा सम्झौताका लागि सम्बन्धित वडाका जनप्रतिनिधिसँग समेत सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ। गाउँपालिकाले छनोट भएका लाभग्राहीलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
