स्वास्थ्य सेवामा फड्को मार्दै बित्थडचिर गाउँपालिका, एक्स–रे सेवा सञ्चालनको तयारी तीव्र
स्वास्थ्य सेवामा फड्को मार्दै बित्थडचिर गाउँपालिका, एक्स–रे सेवा सञ्चालनको तयारी तीव्र
बझाङ, असार ३ – दुर्गम क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित बित्थडचिर गाउँपालिकाले स्थानीय अस्पतालमा एक्स–रे सेवा सञ्चालनको तयारीलाई तीव्रता दिएको छ। गाउँपालिकाले आवश्यक उपकरण खरिदका लागि पुनः सिलबन्दी दरभाउपत्र आह्वान गरेसँगै सेवा विस्तारको प्रक्रिया अगाडि बढेको हो।
हाल सामान्य स्वास्थ्य परीक्षणका लागि समेत जिल्ला सदरमुकाम वा अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेका स्थानीय बासिन्दाले एक्स–रे सेवा सञ्चालन भएपछि गाउँमै स्वास्थ्य परीक्षण गराउन सक्ने अपेक्षा गरेका छन्। विशेषगरी दुर्घटना, हाडजोर्नीसम्बन्धी समस्या तथा अन्य स्वास्थ्य जटिलताको पहिचान गर्न एक्स–रे सेवा प्रभावकारी हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, उपकरण व्यवस्थापन तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिमा जोड दिँदै आएको जनाएको छ। स्थानीयवासीले समेत एक्स–रे सेवा सञ्चालनलाई गाउँपालिकाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
स्थानीय तहमा स्वास्थ्य पूर्वाधार सुदृढ बन्दै जाँदा ग्रामीण भेगका नागरिकले समयमै उपचार पाउने र अनावश्यक आर्थिक भारसमेत कम हुने विश्वास गरिएको छ।
