रौतामाई गाउँपालिकाद्वारा दलित समुदायलाई आरन सुधार सामग्री वितरण गरिने
उदयपुरको रौतामाई गाउँपालिकाले दलित समुदायको परम्परागत पेशा आरन (फलामे काम) लाई आधुनिक र व्यवस्थित बनाउन सामग्री वितरण गर्ने भएको छ।गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत दलित समुदायले सञ्चालन गर्दै आएको आरन व्यवसायलाई प्रवर्द्धन तथा आधुनिकीकरण गर्ने उद्देश्यले उक्त सहयोग कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सार्वजनिक गरेको सूचना अनुसार गाउँपालिका क्षेत्रभित्र आरन व्यवसाय सञ्चालन गर्दै आएका इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निवेदन दिनुपर्नेछ।
निवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, आरन व्यवसाय सञ्चालन गरिरहेको देखिने स्पष्ट फोटो तथा माग निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।गाउँपालिकाले यस कार्यक्रममार्फत परम्परागत सीप र पेशाको संरक्षण गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा दलित समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास लिएको छ।
