उदयपुरगढी गाउँपालिकाको सूचना: भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन नाप नक्सा गरिँदै
उदयपुरको उदयपुरगढी गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने कार्य अघि बढेको छ। यसै प्रयोजनका लागि गाउँपालिकाले आगामी असार २६ गतेदेखि जग्गाको नाप नक्सा कार्य सुरु गर्ने भएको छ।
गाउँपालिकाको कार्यालयद्वारा जारी सूचना अनुसार, वडा नं. ६ भित्रको स्थानीय तहले पहिचान र छनौट गरेका सरकारी जग्गाको नाप नक्सा कार्य असार २६ गतेदेखि गोहिया गाउँबाट सुरु गरिनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईद्वारा हस्ताक्षरित सूचनामा जग्गा नाप नक्सा हुने समयमा सम्बन्धित व्यक्तिहरूलाई आफ्ना आवश्यक कागजातसहित अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।
उपस्थित हुँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूसँग उपलब्ध अन्य प्रमाणहरू र निवेदन दर्ताको निस्सा (रसिद) साथमा लिई आउन सूचित गरिएको छ। सम्बन्धित व्यक्तिहरूले आफैं उपस्थित भई आफूले आवाद कमोत गरेको (भोगचलन गरिरहेको) जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनुपर्नेछ।
नापी सम्बन्धी थप केही जानकारी आवश्यक परेमा सम्बन्धित टोली मुकाम (कार्यक्षेत्र) मा नै आई बुझ्न सकिने गाउँपालिकाले जनाएको छ।
