सूर्यविनायक नगरपालिकाले सुरु गर्यो घरपालुवा कुकुर तथा बिरालो दर्ता अभियान
सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्र पालिएका घरपालुवा कुकुर तथा बिरालोको अभिलेखीकरण, व्यवस्थापन तथा रेबिजजस्ता घातक रोग नियन्त्रण गर्ने उद्देश्यले दर्ता अभियान सञ्चालन गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रम अन्तर्गत घरपालुवा कुकुर तथा बिरालोको अनिवार्य दर्ता गरिने भएको हो। नगरपालिकाको घरपालुवा जनावर व्यवस्थापनसम्बन्धी कार्यविधिअनुसार नगरवासीले आफ्ना घरपालुवा कुकुर तथा बिरालो दर्ता गराई अभिलेखीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
दर्ता कार्यक्रम असार ३ गतेदेखि असार १५ गतेसम्म सूर्यविनायक नगरपालिका कार्यालय, कटुन्जेमा सञ्चालन हुनेछ। दर्ता शुल्क प्रतिवटा जनावरको रु. ५०० निर्धारण गरिएको छ।
दर्ता गर्ने पशु मालिकले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। दर्तापश्चात पशु मालिकलाई प्रमाणपत्र प्रदान गरिनुका साथै जनावरमा माइक्रोचिप जडान, निःशुल्क रेबिज खोप, आन्तरिक परजीवी विरुद्धको औषधि तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले माइक्रोचिपिङ प्रक्रिया अनिवार्य भएकाले दर्ताका लागि आउँदा घरपालुवा कुकुर वा बिरालोलाई साथमै ल्याउन अनुरोध गरेको छ। नगरपालिकाका अनुसार यस अभियानले घरपालुवा जनावरको व्यवस्थित अभिलेख राख्न, रेबिज नियन्त्रण गर्न तथा पशु तथा मानव स्वास्थ्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

