विद्यालयमा प्रविधिमैत्री शिक्षा: सिमकोटका २० विद्यालयलाई ल्यापटप हस्तान्तरण
हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ। विद्यालय तहदेखि नै सूचना र प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले ल्यापटप हस्तान्तरण गरेको हो।
गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत करिब ४५ लाख रुपैयाँ बराबरको ४० थान ल्यापटप विद्यालयहरूलाई वितरण गरिएको हो। विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्दै डिजिटल सिकाइ वातावरण निर्माण गर्न र शिक्षाको गुणस्तर सुधार्न यो कदम चालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पङ्गालीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत पङ्गालीका अनुसार शिक्षामा गरिएको यो लगानी भविष्यको मानव संशाधन विकास र समग्र गाउँपालिकाको समृद्धिसँग जोडिएको छ। “हामी विद्यालयमा ल्यापटप मात्र वितरण गरेर रोकिने छैनौँ, यसको प्रभावकारी उपयोगका लागि शिक्षकहरूलाई आवश्यक तालिम तथा प्राविधिक व्यवस्थापनमा समेत सहयोग गर्नेछौँ,” उनले भने।
सिमकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षकहरूको क्षमता विकास तथा डिजिटल शिक्षामा निरन्तर लगानी बढाउँदै ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न गाउँपालिकाले सक्रिय भूमिका खेलिरहेको छ।
