कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दिँदा ५ जना घाइते
जिल्ला काठमाडौं का.म.न.पा.–३२ कोटेश्वर स्थित भाटभटेनी अगाडिको सडक-खण्डमा सोमबार बेलुका ०७:४० बजेको समयमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् ।
बा १४ च ४८२० नम्बरको कार अनियन्त्रित भई ४ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि ललितपुरको ग्वार्खो स्थित बी एन्ड बी अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनामा बा.प्र.०२–०७९ प ६४८६ नम्बरको मोटरसाइकल चालक जिल्ला मकवानपुर हेटौँडा स्थायी घर भई हाल ललितपुरको ग्वार्खो बस्ने २२ वर्षीय ज्ञानसागर लोप्चन घाइते भएका छन् । उनको दाहिने काँधमा चोट लागेको छ र अवस्था सामान्य रहेको छ ।
सोही मोटरसाइकलको पछाडि सवार भोजपुर स्थायी घर भई हाल ग्वार्खो बस्ने १९ वर्षीय विपन राईको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
यस्तै, बा.प्र.०२–०६१ प ६१०७ नम्बरको मोटरसाइकल चालक जिल्ला काठमाडौं स्वयम्भू–१५ बस्ने १८ वर्षीय सुशील श्रेष्ठको शरीरको गोप्य अङ्गमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
बा ९६ प ३३२५ नम्बरको मोटरसाइकल चालक जिल्ला ललितपुर धापाखेल बस्ने १९ वर्षीय एलिश बनियाँको दाहिने खुट्टा र छातीमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
त्यसैगरी बा.प्र.०२–०४१ प ८२८२ नम्बरको मोटरसाइकल चालक जिल्ला रामेछाप स्थायी घर भई हाल ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीय सुदीप थापाको बायाँ खुट्टा र अनुहारमा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको छ ।
दुर्घटनामा संलग्न ४ वटा मोटरसाइकल तथा कारलाई कोटेश्वर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कार चालक जिल्ला मोरङको विराटनगर–०४ स्थायी घर भई हाल जिल्ला काठमाडौं सिनामंगल बस्ने ४५ वर्षीय भीष्म श्रेष्ठलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।
