पालिका खबरविजनेशसमाचार

खोटाङका रैथाने उत्पादन अब विश्व बजारतर्फ, दिक्तेलमा कृषि मार्ट सञ्चालन

खोटाङ, २ वैशाख । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले दिक्तेल बजारको किरातचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले दिक्तेल बजारमा कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।

कृषकको उत्पादनले बजारसम्मको पहुँच पाउन नसक्दा कृषि पेशाप्रति नै बितृष्णा पैदा हुँदै गएकाले त्यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न सालपा कृषि कम्पनी स्थापना गरेर कृषि मार्ट सञ्चालन गरिएको कम्पनीका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिनुभएको छ । “देशमा युवा जनशक्तिको पलायन, जनसङ्ख्या बृद्धिदरमा कमी र बसाइँसराइका कारण खेतबारी बाँझिनेक्रम बढ्दो छ । जिल्ला आयातित खाद्यान्नमा निर्भर हुदै गएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा प्राङ्गारिक खेती प्रणाली तथा रैथाने प्रजातिका बालीनालीहरु क्रमिक रुपमा लोप हुँदै गएका छन् । खुला तथा प्रतिस्पर्धात्मक बजार प्रणाली तथा स्थानीय कृषकलाई राज्यबाट प्रदान गरिनुपर्ने उचित संरक्षण अभावका कारण उनीहरु बाहिरी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । कृषकको जीविकोपार्जनमा सहयोग पु¥याउँदै उनीहरुले उत्पादन गरेका कृषि उपज विश्व बजारसम्म पुलक्ष्यका साथ सालपा कृषि कम्पनी को स्थापना भएको हो ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले बुधबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको ‘रैथाने कृषि मार्ट’मा स्थानीय कृषकले उत्पादन गरेका विभिन्न रैथाने तथा अर्गानिक कृषि उपज बिक्रीका लागि राखिएका छन्। मार्टमा लेकाली सिमी, कालो तथा सेतो ड्वाङ्गे दाल, भटमास, कागुनो, जौ, जुनेलो, सातु, फापरको पिठो, जुवाइँ कोदोको पिठो, स्थानीय अटेमार्सी चामल, गुन्द्रुक, गहत, आलुको मस्यौरा, रावाखोलाको असला माछाको सुकुटी, तिल, बदाम, सुकेको अकबरे तथा जिरे खुर्सानी, बेसार, स्थानीय तोरीको तेल, घ्यु, मेहेलको सर्वत, सखर लगायतका उत्पादन उपलब्ध छन्।मार्टमा उपभोग्य सामग्रीसँगै विभिन्न रैथाने बालीका बीउबिजनसमेत बिक्रीका लागि राखिएको कम्पनीका व्यवस्थापक देवकुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार भटमास, जुवाइँ कोदो, लेकाली सिमी, मकै, जौ, कागुनो, जुनेलो, गहत तथा विभिन्न दालका बीउका साथै मुला, गाजर, गोलभेँडा, प्याज, लसुन, धनियाँ र रायो सागलगायत तरकारी बालीका बीउबिजन पनि उपलब्ध गराइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x