पालिका खबरसमाचार

गोदावरी नगरपालिकाद्वारा गृहिणीलक्षित ‘कौशी खेती’ कार्यक्रम घोषणा, १५ किसिमका सामग्रीसहित तालिम दिइने

ललितपुरको गोदावरी नगरपालिकाले नगरभित्रका गृहिणीहरूलाई आत्मनिर्भर बनाउने र शहरी फोहोर व्यवस्थापनलाई दुरुस्त पार्ने उद्देश्यले ‘कौशी खेती प्रवर्द्धन कार्यक्रम’ सार्वजनिक गरेको छ। नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडा नम्बर ३ र १४ का इच्छुक गृहिणीहरूका लागि सात दिने म्याद राखेर आवेदन आह्वान गरेको हो।
घरमै ताजा, अर्गानिक एवम् विषादिरहित तरकारी उत्पादन बढाउने र जैविक फोहोरलाई कम्पोष्ट मलका रूपमा पुनःप्रयोग गर्ने दोहोरो लक्ष्यसहित यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ।
कार्यक्रम अन्तर्गत छनोटमा परेका सहभागीहरूलाई कौशी खेतीका लागि आवश्यक पर्ने १५ किसिमका कृषि सामग्रीहरू उपलब्ध गराइने कृषि शाखाले जनाएको छ। यो कार्यक्रम पूर्ण अनुदान नभई लागत साझेदारी (कस्ट सेयरिङ) मोडेलमा सञ्चालन हुनेछ। सामग्री वितरण गर्नुअघि गृहिणीहरूलाई कौशी खेती व्यवस्थापन सम्बन्धी ५ दिने व्यावहारिक तथा प्राविधिक ज्ञान समेत प्रदान गरिने नगरपालिकाको सूचनामा उल्लेख छ।

आवेदन दिने प्रक्रिया
यो कार्यक्रम हालका लागि वडा नं. ३ र १४ मा मात्र केन्द्रित गरिएको छ। प्रत्येक वडाबाट बढीमा २० जना गृहिणीहरू समेटेर समूह बनाई तालिम र सामग्री दिइनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक गृहिणीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आ–आफ्नो वडा कार्यालयमा आवेदन पेश गरिसक्नुपर्नेछ।

आवश्यक कागजातहरू:
    • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
    • तोकिएको ढाँचाको निवेदन

सम्पर्क र समन्वय
नगरपालिकाले आवेदन र समन्वयका लागि दुवै वडामा सम्पर्क व्यक्ति समेत तोकेको छ। जसअनुसार:
    • वडा नं. ३ का लागि: अच्युत श्रेष्ठ (मोबाईल: ९८४९८४५५९०)
    • वडा नं. १४ का लागि: राधा ढकाल (मोबाईल: ९८४११६७५७४)

म्याद नाघेर आएका वा रीत नपुगेका प्रस्तावहरूमाथि कुनै कारबाही नहुने नगरपालिकाले स्पष्ट पारेको छ। ‘कृषि, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समावेशी, समृद्ध गोदावरी’ को मूल नारालाई साकार रूप दिन यो कार्यक्रम कोेसेढुङ्गा सावित हुने विश्वास स्थानीय प्रशासनले लिएको छ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x